सरोज बस्नेत
उर्लाबारी । मोरङको उर्लाबारी–५ झुम्रास्थित राम्री खोला पक्की पुल निर्माण नहुँदा स्थानीयबासीले सास्ती खेप्नु परेको छ ।
बर्षौदेखि पक्की पुल निर्माण हुने चर्चा चलेपनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । चुनाबको बेला उम्मेद्वारहरुले पक्की पुल बनाउने आश्वसन दिए । चुनाब पनि जिते । तर, संघीय होस् वा प्रदेश सांसद कसैले यो पुल निर्माणको काम अघि बढाउने विषयमा ध्यान दिएका छैनन् । ‘पुल बन्दैछ भनेको धेरै भयो’ स्थानीय यमुना पराजुली भन्नुहुन्छ–‘खोई कहिले बन्छ पुल ?, बर्खाको समयमा सडक अबरुद्ध हुँदा सास्ती खेपेको बर्षौ वित्यो, समस्या समाधान हुने छनक देखिएन ।’
खोलामा बाढी आएपछि स्लाप पुलमाथीबाट पानी बग्ने गरेको छ । स्लाप पुलमाथीबाटै पानी बग्ने भएका कारण आवातजावातमा समस्या हुने गरेको स्थानीय प्रेमबहादुर मगर बताउनुहुन्छ । स्थानीय, प्रदेश र संघीय सरकारले यसप्रति चासो नदिएको भन्दै स्थानीयले पटक पटक ध्यानाकर्षण गराउँदै आएका छन् । चुनाब ताका नेताहरुले आश्वसन दिएपनि अहिलेसम्म पुल बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।

यस खोलामा आएको बाढीका कारण उर्लाबारी पुग्ने बैकल्पिक बाटोमा रहेका सिसौली , धाउन्ने चौक र अबिरल चौक संग सम्पर्क रहेका साना पुल माथीबाट खोलो बगेपछि स्कुल बस, मोटरसाईकल र सिटी सफारीहरू समेत मिक्लाजुङबाट घुमेर उर्लाबारी आउनु पर्ने बाध्यता रहेको छ । चुनाब ताका जोडतोडले झुम्रामा पुल निर्माणको विषय उठ्ने गरेको भएपनि अहिलेसम्म तीनै तहका सरकारको ध्यान पुगेको छैन । तत्कालिन उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोले गौरबको योजनामा झुम्रा पुललाई राखेर ५० लाख रुपैयाँ बजेट विनियोजन गरेपनि काम हुन सकेन । त्यसपछि यो पुल निर्माणका विषयमा चर्चा परिचर्चा भएपनि हालसम्म कुनै काम अघि बढेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय