रबिन्द्र बराल, रंगेली
मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा बन्न थालेको पुल १५ बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । सरकारले सिमाबर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेतापनि १५ बर्ष हुँदासमेत काम भने अधुरै रहेको छ ।
भद्रचोक, आमबाडी, झुर्कियालगायतका स्थानीयहरु बर्षाको समयमा गौरिगन्ञ सम्म पुग्न कि त भारतको बाटो भएर जानुपर्छ नभए मोरङकै उर्लाबारी, दमक, हुँदै गौरीगंजसम्म पुग्नुपर्ने बाध्यता विगत १५ वर्षदेखि कायमै रहेको छ । खोलामा बर्षायाममा आउने बाढीका कारण पानीले हरेक बर्ष खोलाको धार बदल्ने भएपछि पुनः पूर्व तर्फबाट एउटा पिलर थप गर्ने र पश्चिमबाट दुईवटा पिलर थप गर्नुपर्ने भएपछि अहिले उक्त पुलको काम भईरहेता पनि काम भने सुस्त गतिमा भईरहेको छ । खोलामा तटबन्ध गर्ने काम सम्पन्न भएता पनि २ सय मिटर सडकको केही भागमा जलमग्न पानी भएपछि स्थानीयहरु ज्यानको प्रभाव नगरि खोला तर्ने गरेका छन् । निर्माधिन रहेको पुलको डर र भित्ता समातेर पुल चडेर खोला तर्ने र साईकल यात्रीले समेत पुलमा रहेका व्यक्तिहरूको सहारामा काँधमा साइकल हालेर पुल चढ्ने र आफ्नो गन्तव्यसम्म जान बाध्य रहेका छन् । २०६५ साल मा भौतिक तथा निर्माण मन्त्री रहँदा बिजयकुमार गच्छदारले उक्त पुल बनाउन शिलान्यास गरेका थिए । १५ वर्षको अबधिमा भौतिक निर्माण मन्त्री धेरै बने । तर, रतुवा खोलाको पुलले पूर्णता पाएन । ‘धेरै नेताहरुले चुनावको बेलामा हामी पुल बर्ष दिन भित्रमा बनाइ दिन्छौं चुनाव जिताउनुस् भनेर भोट जित्ने गरेको र चुनाव जितेपछि फर्केर पनि आउँदैनन्’ स्थानीय दिपनारायण ताजपुरिया भन्छन् ।
सरकारले देव एण्ड सायर, समता, आशिषदेव जे.वी. बिर्तामोड झापालाई २०७९ असारमा सो पुलको तटबन्ध १२ सय मिटर लम्बाई र पुलको बाँकी निर्माण कार्यका लागि २१ करौड रुपैयाँ बराबरमा ठेक्का दिएको छ । उक्त काम २०८२ असार सम्पन्न निर्माण कार्य सम्पन्न गर्नेका लागि जिम्मा समेत लगाएको छ । हुलाकी सडक निर्माण कार्यालयका इन्जिनियर प्रभात किरण राईका अनुसार उक्त काम असार मसान्तसम्म काम सम्पन्न गरेर पुलबाट दुई चक्के समेत आवतजावत गर्न सकिने गरि दु्रतगतिमा काम भईरहेको छ । सो पुल निर्माण भई सञ्चालनमा आएमा बिराटनगरदेखि भद्रपुरसम्म आवत जावत गर्नेका लागि सर्वसाधारणहरुले बिराटनगर, ईटहरी, दमक र बिर्तामोड जाने झन्झटबाट मुक्त पाउने र हुलाकी राजमार्गको बाटो आवत जावत गर्ने छोटो तथा सहज हुने स्थानीयहरु बताउँछन् ।























