सरोज बस्नेत

उर्लाबारी । यौनिक तथा अल्पसंख्यक समुदायले झापाको दमकमा प्राईड परेड कार्यक्रम भब्यताका साथ मनाएका छन् ।
लिड नेपाल दमक झापाको आयोजना तथा निल हिरा समाज (बिडिएस) केन्द्रीय कार्यालय, आरएचआरएन र दमक नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम भएको हो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले हरेक वर्षको जुन महिनालाई गौरवको महिनाको रूपमा मनाउने गर्दछन् । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रको धारा १ ले सबै मानव जातिको जन्म स्वतन्त्र रूपमा भएको र सबैको सम्मानपूर्वक मर्यादित जीवन जिउन पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।
जुन महिनालाई रंगीन महिनाको रूपमा विभिन्न यौनिकता र लैंगिक पहिचान भएका व्यक्तिहरुले मनाउने गर्दछन् । यो महिनामा समुदायमाथि हुने हिंसा, विभेदलाई अन्त्य गर्नका लागि गौरवका साथ चिनाउने गरिएको लिड नेपाल झापाकी कार्यक्रम संयोजक नुमा लिम्बू (चञ्चला) बताउनुहुन्छ ।
सन् १९६९ मा अमेरिकाको न्युयोर्कस्थित एउटा बारमा समलिङ्गी व्यक्तिहरूको जमघटमा प्रहरीले आक्रमण गरेको थियो । उक्त क्रूरताविरुद्धको कार्यमा धेरै व्यक्तिहरूको मृत्यु भएको थियो । सोही आन्दोलनमा मारिनेहरुको सम्झनामा हरेक वर्षको जुन महिनामा विशेष किसिमले मनाउने गरिन्छ । यो महिनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको पहिचान, समानता, सुरक्षा, स्वतन्त्रता, मर्यादा र न्यायका लागि उत्सवको रूपमा विश्वभर मनाउँदै आएको संयोजक लिम्बूको भनाई छ ।
प्राइड परेडमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले आफ्नो पहिचान खुलाएर सडकमा उत्रिएका थिए । उनीहरूले आफ्नो समूहको प्रतिनिधित्व गर्ने झन्डा, ब्यानर र पोसाक लगाएका दमक नगर परिक्रममा गरेका छन् । जस्तो कोही व्यक्ति शारीरिक रूपमा पुरुषका रूपमा जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाको रूपमा मान्छ भने उक्त व्यक्ति परेडमा महिला बनेर आउने गरेका छन् । नेपाली समाजमा कैयौँ लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले अहिले पनि दोहोरो जीवन अर्थात् आफ्नो पहिचान लुकाएर बस्नुपर्ने बाध्यता रहेको बताइन्छ । तर, प्राइड परेडका दिन यस्ता व्यक्तिहरू पनि खुलेर बाहिर आउने गरेका छन् ।
कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो भने ईलाका प्रहर कार्यालय दमकका डिएसपी निसान थापा, सामाजिक अभियन्ता सन्तोष गौतम, मिस पिंककी फष्ट रनअरअप अनमोल राई, सेकेण्ड रनरअप आरोही बस्नेतलगायत विभिन्न सामाजिक संघ सस्थाको प्रतिनिधिहरु, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय