उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोले किसानहरुलाई केन्द्रमा राखेर बजेट बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेपाल किसान महासंघ कोशी प्रदेशले शनिबार मोरङको उर्लाबारी–२ मा आयोजना गरेको २१ औं राष्ट्रिय धान दिवस कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले कृषि अनुदानको दुरुपयोग भई रहेको अवस्था देखिएको हुँदा किसान परिचय कार्ड मार्फत अनुदान वितरण गरिनुपर्ने बताउनुभयो । उहाँले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशमा समृद्धि हासिल हुने बताउनुभयो । कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने उहाँको भनाइ थियो । देशको समृद्धिको मुल आधार कृषि क्षेत्र भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बू, उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेल, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दास, नेपाल किसान महासंघ कोशीका अध्यक्ष राजेन्द्र भट्टराईलगायतको सहभागिता रहेको थियो । सहभागी नेता तथा कार्यकर्ताहरुले धान रोपाईसँगै दही चिउरा खाएर असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाएका थिए ।























