उर्लाबारी । उर्लाबारी–मधुमल्ला सडक खण्डको मोरङको उर्लाबारी–६ मा टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि सोमबार राती उर्लाबारी तनाबग्रस्त बन्यो ।
सोमबार साँझ मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक उर्लाबारी–६ की करिब २८ वर्षीया सीता बोहोराको घटना स्थलमै मृत्यु भएको थियो ।
घटनास्थलमै मृत्यु भएकी बोहोरालाई प्रहरीले मुचुल्का नै नबनाई प्रहरी भेनमा हस्पिटल लगेपछि स्थानीयबासीहरु आक्रोशित बनेका थिए । बोहोराको शब भेनमा हालेर लगेपछि निकै आक्रोशित बनेका स्थानीय र आफन्तले त्यहाँ मुचुल्का तयार गर्न पुगेका प्रहरीमाथि नै कुटपिट गरेका थिए । प्रहरीले घटनालाई गम्भिरतापूर्वक नलिएको भन्दै आफन्त तथा स्थानीयबासीहरुले साँझदेखि राति १० बजेसम्म प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका स्थानीय तथा आफन्तहरुले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गर्नुको साथै पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्ड अबरुद्ध गरेका थिए ।
उक्त घटनाले उर्लाबारी तनाबग्रस्त बनेको थियो । उर्लाबारीसहित आसपासका जनपथ तथा सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरेर राति १० बजे प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घरबाट तरकारी किन्न निस्किएका बेला महिलालाई टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटरको पछाडि सवार मृतकका छोरा अन्दाजी ९ वर्षीय प्रशान्त बोहोरा घाइते भएका छन् । उनलाई विराटनगरको न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको छ । प्रहरीले टिपर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ४२ वर्षीय लालबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको छ ।























