उर्लाबारी । भदौंमा हुने उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष पदमा ब्यवसायी विनोद न्यौपाने उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
आज उर्लाबारीमा पत्रकार सम्मेलन गरी उहाँले ब्यवसायी तथा उद्योगीहरुको राय र सुझाव अनुसार अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको बताउनुभयो । सबैको साथ र सहयोगले यस पटकको निर्वाचनमा आफुले विजयी हासिल गर्नेसमेत उहाँले दाबी गर्नुभयो । पूर्वअध्यक्षहरु तेजकुमार रिजाल, प्रेमचन्द्र बाहेती, कल्याण राजभण्डारी, केशब कार्की र प्रितम खड्गीको समर्थन रहेको पत्रकार सम्मेलनमा बताइयो । नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्य, अखिल नेपाल फुटबल संघ(एन्फा) का केन्द्रीय सदस्य दिपेन्द्र धिमाल, नेपाली कांग्रेस मोरङका सदस्य चन्द्रप्रसाद भट्टराईलगायतले पनि अध्यक्षमा न्यौपानेलाई सहयोग गर्ने बताउनुभएको छ । त्यस्तै, उर्लाबारीका ब्यवसायी मनोहरि दाहालले आफु बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने र अध्यक्षमा न्यौपानेलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उर्लाबारी उद्योग बाणिज्य संघमा राजनीति गर्न नहुने भन्दै उनीहरुले यस पटक अध्यक्ष पदमा न्यौपानेलाई सहयोग गर्नु पर्ने धारणा राखेका छन् ।
न्यौपानेले संघको बरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी पूरा गरिसक्नुभएको छ । हाल कानुनी सल्लाहकार रहनु भएका न्यौपाने नेपाली कांग्रेस समर्थक ब्यवसायी मानिनुहुन्छ ।
यसअघि नै नेपाली कांग्रेस उर्लाबारी नगर समितिले संघको अध्यक्षमा तारामान सेरेङलाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । उक्त निर्णयमा असन्तुष्टि जनाउँदै न्यौपानेले विद्रोह गर्नुभएको छ । त्यसमा न्यौपानेलाई अध्यक्षमा कांग्रेसनिकट मानिने पूर्वअध्यक्षहरुले साथ दिएका छन् ।























