झापा । मेचीनगर नगरपालिकाले आफ्नो खातामा पैसा हुँदाहुँदै ९० वटा बिलको भुक्तानी रोकेको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा कार्य सम्पन्न भएका स्थानीय परियोजनाको प्रक्रिया बमोजिम बिल स्वीकृत भएतापनि अन्तिममा आएर लेखा शाखाले चेक नबनाएर अकारण भुक्तानी रोकेको हो । नगरपालिकाले यसपटक पेश भएका शतप्रतिशत बिलको भुक्तानी दिनेगरी पर्याप्त बजेटको व्यवस्था मिलाएको जनाएको थियो । तर, भुक्तानीका लागि चेक नबनाउँदा बिभिन्न स्रोत र शिर्षकबाट बिनियोजित बजेट यसपाली पनि फ्रिज भएको छ । चेक काट्न मिल्ने अन्तिम दिनको राति १२ बजेसम्म लेखा शाखाका कर्मचारीहरुले कार्यालयमै बसेर चेक काटेका थिए । बेलैमा पेश र स्वीकृत भएका बिलको भुक्तानी बेलैमा नगरेर अन्तिम रात चेक काट्ने लेखा शाखाको शैली यसपाली पनि दोहोरियो ।
स्वार्थ समूहको प्रभावमा परेर लेखा शाखाले कतिपयको भुक्तानीलाई प्राथमिकतामा राखेको र कतिपयलाई पूर्वाग्रह राखेर दुःख दिन भुक्तानी रोकेको सेवाग्राही बताउँछन् । खातामा रहेको बजेट फ्रिज गर्ने तर बिलको भुक्तानी नदिने प्रवृत्तिले नगरपालिकाप्रति जनाक्रोश बढाउने गरेको छ । जनतामा असन्तोष बढाउन र नगरपालिकाको बद्नामी गराउन लेखा शाखाको ढिलासुस्ती र पक्षपातपूर्ण व्यवहार समेत कारक बन्ने गरेको छ ।
लेखा शाखाको मुख्य जिम्मेवारी लेखा अधिकृत पदमबहादुर कार्कीले सम्हाल्नु भएको छ । बिगतदेखि नै बजेट फ्रिज गर्ने र खातामा पैसा हुँदाहुँदै बिलको भुक्तानी रोक्ने भूमिकामा कार्की नै दोषी भएको आरोप लाग्ने गरेको छ ।
अधिकांश समय बिदामा बस्ने र कार्यालय समयमा कार्यकक्षमा ताला लगाएर बाहिर जाने लेखा अधिकृत कार्कीकै कारण भुक्तानीमा ढिलासुस्ती हुँदै जनगुनासो छ । लेखा अधिकृत कार्कीको प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।























