
उर्लाबारी । मोरङको उर्लाबारी–२ को सुनपकुवा माध्यमिक बिद्यालयका नयाँ प्रधानाध्यापक यादवप्रसाद भण्डारी पद छोड्न दबाब दिइरहेको पाइएको छ ।
प्रधानाध्यापक केशब खड्काले राजीनामा दिएपछि सिनियरका आधारमा विद्यालय ब्यवस्थापन समितिले यादवप्रसाद भण्डारीलाई प्रधानाध्यापक नियुक्ति दिएको थियो । त्यसपछि उर्लाबारी नगर शिक्षा समितिका सदस्य पूर्णप्रसाद घिमिरे र नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलाले प्रधानाध्यापक भण्डारीलाई पद छोड्न दबाब सिर्जना गरिरहेको स्रोतले बताएको छ । एमालेनिकट मानिने प्रेमप्रकाश कोइरालालाई प्रधानाध्यापक बनाउन उनीहरुले विद्यालय ब्यवस्थापन समितिलाई पटक पटक दबाब दिइरहेको बुझिएको छ । ‘विद्यालयको शिक्षा सुधारभन्दा पनि राजनीति चलखेल भइरहेको छ’ स्रोतले भन्यो ।
यता उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले सामुदायिक विद्यालयको सुधारमा लागि परेको उल्लेख गर्दै कसैलाई पनि विद्यालयमा राजनीति चलखेल गर्ने छुट नभएको बताउनुभयो । उहाँले आफुलाई प्रधानाध्यापक नियुक्तिका बारेमा दबाब सिर्जना भएको विषयमा जानकारी नभएको र त्यस्तो भएको भए ‘एक्सन’ लिने बताउनुभयो । यता शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्लेले आफुलाई सो बारेमा कुनै जानकारी नआएको दाबी गर्नुभयो । यता यस बारेमा बुझ्न नेकपा एमाले उर्लाबारीका अध्यक्ष बास्तोलालाई फोन सम्पर्क गर्दा उठेन भने नगर शिक्षा समितिका सदस्य घिमिरेसँग सम्पर्क हुन सकेन ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष टिकाकुमारी भट्टराई (शिला) ले चौतर्फी दबाब सिर्जना भएकै कारण विद्यालयले गति लिन नसकेको बताउनुभयो । विद्यालयको गुणस्तर सुधारसँगै नमूना विद्यालयको रुपमा अघि बढाउन विद्यालय ब्यवस्थापन समिति, शिक्षक, अभिभावकहरु लागि परेको अवस्थामा प्रधानाध्यापकलाई नै मानसिक दबाब सिर्जना गरी पद छोड्न बाध्य पार्न खोजेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएको छ । ‘प्रधानाध्यापकले काम गर्ने वातावरण भएन भन्नुहुन्छ’ उहाँले भन्नुभयो–‘यो हिसाबले शिक्षा सुधार होइन डामाडोल बन्ने निश्चित छ ।’
यसअघिका प्रधानाध्यापक केशब खड्कालाई समेत मानसिक दबाब सिर्जना गरेको बताइन्छ । सो कारण दुई पटक सम्पर्क विहीन बन्नुभएको थियो । उहाँले राजीनामा दिएपछि भण्डारीलाई विद्यालय ब्यवस्थापन समितिले नियुक्ति गरेको थियो ।