
उर्लाबारी । कुशे औंशी अर्थात बुवाको मुख हेर्ने दिनको अवसर पारेर डा. सन्दिप अधिकारीले विपन्न विरामीको उपचारमा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गर्नुभएको छ ।
अरनिको हस्पिटल उर्लाबारीका सञ्चालक समिति सदस्य तथा मेडिकल निर्देशक, बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.अधिकारीले आफ्ना बुवा स्वर्गीय पदमप्रसाद अधिकारीको स्मृतिमा अक्षयकोषको स्थापना गर्नुभएको हो ।
एक लाख रुपैयाँको अक्षयकोष सुरुवात गरिएको र प्रत्येक वर्ष कोषको रकम बढाउँदै लगिने डा. अधिकारीको भनाई छ । यसरी अक्षयकोष स्थापना गर्दा अरु समेत प्रोत्साहन हुने भएकाले आउँदा दिनहरुमा यसरी सहयोग गर्नेहरुमा सकारात्मक प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु लिम्बूले अक्षयकोषको रकमलाई पारदर्शी हिसाबले विरामीहरुको उपचारमा खर्च गरिने बताउनुभएको छ । उहाँका अनुसार खर्च अभावमा उपचार गर्न समस्यामा परेका विपन्न अवस्थाका विरामीलाई अक्षय कोषको ब्याज रकमबाट मद्दत पु¥याइनेछ । उपचारार्थ भर्ना भएका विपन्न अवस्थाका विरामीहरुले अरनिको हस्पिटलको वेलफेयर यूनिटमा सम्पर्क गरी सिफारिस लिएर वार्षिक एक लाखसम्मको उपचार सेवा लिन सकिने जनाइएको छ ।