
उर्लाबारी । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत् अभिव्यक्त गर्दै मनाउने गरिन्छ । तर, तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाएका छन् ।
झापाको दमकमा मंगलबार लिड नेपाल झापाको आयोजनामा तीज कार्यक्रम गरिएको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुबीच भेटघाट तथा नाचगान गरेर तीज कार्यक्रम मनाएका छन् । आफन्तको व्यवहारका कारण उनीहरु साथीभाइबीच भेटघाट गरी तीज मनाएका हुन् । ‘तीज पर्व आफन्तसँग मनाउन रमाइलो हुन्छ, आमा, दिदीबहिनी भेटघाट गर्दा छुट्टै आनन्द हुन्छ होला,’ लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू (चञ्चला) ले भन्नुभयो ‘घरपरिवार र समाजले मलाई सहजरुपमा स्वीकार गरेको छैनन्, पहिरन पनि मिल्दैन, सोच मिल्दैन ।’ चञ्चलालाई परिवारसँग भेट्न नपाए पनि आफ्नो खुसीका लागि साथीसँग मिलेर तीज मनाउन राम्रो लाग्छ । ‘म व्रत बस्छुु’ उहाँले सुनाउनुभयो, ‘राम्रो पति मिलोस् भनेर व्रत गर्ने गरेको छु, विधिपूर्वक पूजा गर्छु ।’
तेस्रोलिङ्गी महिला सबैले व्रत बस्दैनन् । व्रत बस्दा मन्दिरमा पूजा गर्न सहज पनि छैन । यी समुदायका महिला सुरुमा पुरुष भएर जन्मिएका हुन्छन् । बाबुआमाले छोराकैरुपमा हुर्काएका हुन्छन् । तर, हुर्कने, बढ्ने क्रममा आफूलाई छोरीको महसुस गरेर छोरीकै पहिरन लगाउने, छोरीकै हाउभाउ देखाउने र व्यवहार गर्ने गर्दछन् । जन्मँदा छोरा भनेर परिवार र समाजले हेरिरहेको हुन्छ । पछि एकैपटक छोरीका रुपमा समाजले सहजरुपमा स्वीकार्न सक्दैन । यो समुदायलाई तीज र अरु पर्व मनाउन सहरी क्षेत्रमा सहज भए पनि ग्रामीण भेगमा कठिन छ । संयोजक चञ्चलालाई तीज पर्व आफ्नो समुदायको अधिकारका लागि पनि लड्ने दिनजस्तो लाग्छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्व राज्यमन्त्री धर्मशिला चापागाईले नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्नु पर्ने धारणा राख्नुभयो । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूदाय दयाको पात्र नभई अवसर पाएको खण्डमा अब्बल सावित हुने उहाँको भनाई छ । सबैको साथ, सहयोग र हौसल्ला पाए लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूदायका ब्यक्तिहरुले समाजमा उदाहरणीय कार्य गर्न सक्ने उहाँको धारणा छ ।
कार्यक्रममा महिला नेतृ भूमिका कोइरालालगायतले बोल्नुभएको थियो । तथ्यांकअनुसार नेपालमा करिब नांै लाख लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय रहेका छन् । परिवार तथा समाजले सहजरुपमा स्वीकार गर्न नसकेका कारण उनीहरु खुलारुपमा बाहिर आउन सकेका छैनन् ।