उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमराज कार्कीले सवारी ज्यान मुद्दामा सफाइ पाएपछि पुनः क्याम्पस प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।
कार्कीविरुद्ध परेको सवारी ज्यान मुद्दामा गत भदौ २८ गते मोरङ जिल्ला अदालतबाट फैसला भई कार्कीले सफाई पाउनुभएको थियो । सवारी ज्यान मुद्दामा पक्राउ परेपछि क्पाम्पस सञ्चालक समितिको बैठकबाट निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी अम्बिकाप्रसाद गौतमलाई दिईएको थियो । गत भदौ ५ गते सञ्चालक समितिले कार्कीलाई प्रमुखको जिम्मेवारीबाट हटाई सहायक क्याम्पस प्रमुख गौतमलाई निमित्त प्रमुखको जिम्मेवारी दिईएको थियो ।
कार्कीले सवारी ऐन २०४९ को दफा ६१ को उपदफा ३ अनुसार २५ दिन कैद र २ हजार रुपैया बुझाई सफाइ पाएपछि क्याम्पस सञ्चालक समितिको बैठकले पुनः कार्कीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । शनिबार बसेको क्याम्पस संचालक समितिको बैठकले उहाँलाई क्याम्पस प्रमुखको जिम्मेवारीमा पुनः जिम्मेवारी दिने निर्णय गरेको हो । सञ्चालक समितिका १९ जनामध्ये १४ जनाको उपस्थितमा सर्वसम्मत रुपमा उहाँलाई पुनः जिम्मेवारीमा फर्काउने निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष पुष्प ढकालले बताउनुभयो । उहाँले घटनाको विषयमा अदालतले क्लिन चिट दिएकाले कार्कीलाई निरन्तरता दिने निर्णय गरिएको स्पष्ट पार्नुभयो । ‘अदालतले सफाई दिएकाले हामीले कार्कीलाई नै क्यापस प्रमुखमा निरन्तरता दिने निर्णय गरेका हौं’, ढकालले पत्रकारहरुसँग टेलिफोनमा भन्नुभयो । क्यापस प्रमुखबाट कार्कीलाई हटाउनु पर्ने कुनै कारण नदेखिएकाले उहाँलाई पुनः जिम्मेवारी दिएको र यो विषयलाई अनावश्यक रुपमा उचाल्न आवश्यक नरहेको उहाँले प्रष्ट पार्नुभयो । यता क्याम्पस सञ्चालक समितिका सदस्य गोपाल कटुवालले पनि क्याम्पस प्रमुख कार्की दोषी नदेखिएकाले पुनः जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरिएको जानकारी दिनुभयो । ‘अर्को व्यवस्था नहुन्जेलका लागि सहायक प्रमुख अम्बिकाप्रसाद गौतमलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो’ उहाँले भन्नुभयो–कार्कीले सफाई पाएपछि पुनः जिम्मेवारी दिएको हो, कानुनअनुसार सफाई पाएपछि यसमा बखेडा झिक्न आवश्यक छैन ।’ क्याम्पस सञ्चालक समिति विधान अनुसार अघि बढेको प्रष्ट पार्दै उहाँले विवाद सिर्जना गर्नुभन्दा पनि क्याम्पसको शैक्षिक सुधार र विकासमा सबै जुट्न आवश्यक रहेको बताउनुभयो । क्याम्पस कार्यसम्पादन समितिले क्याम्पस प्रमुखमा कार्कीलाई पुनः जिम्मेवारी दिने विषयमा लिखित रुपमा सहमति भएपछि सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सदस्य कटुवालले बताउनुभयो । ‘निमित्त प्रमुखलाई आर्थिक अधिकार नभएकाले तत्काल क्याम्पस प्रमुख नियुक्ति पर्नु पर्ने अवस्था सिर्जना भएको थियो’ उहाँले भन्नुभयो–‘कानुन अनुसार कार्कीलाई हटाउने कुनै आधार थिएन, तथ्य र प्रमाण विना हचुवाका भरमा निर्णय गर्ने कुरा भएन, त्यसैले सर्वसम्मत क्याम्पस प्रमुखमा कार्कीलाई जिम्मेवारी दिने निर्णय भएको हो ।’
अफवाह फैल्याएको भन्दै क्याम्पस प्रमुख कार्कीको आपत्ती
उर्लाबारी बहुमूखी क्याम्पसका प्रमुख खेमराज कार्कीले आफ्नो बारेमा अनाहकमा अफवाह फैल्याएको भन्दै आपत्ती जनाउनुभएको छ ।
भवितब्य सडक दुर्घटनाका कारण घटना दुखद भएपछि पीडित पक्षसँग मिलापत्र भइसकेको अवस्थामा आधारहिन र कपोकल्पित तरिकाले भ्रम सिर्जना गरिएको भन्दै उहाँले आपत्ती जनाउनुभएको हो । ‘व्यक्तिगत पूर्वाग्रहबाट प्रेरित भई मेरो मानहानी गरिएको छ, अफवाह फैल्याइएको छ’, कार्कीले भन्नुभयो ।
नगरप्रमुख नै बैठकमा आएनन्
क्याम्पसका पदेन सदस्यसमेत रहनुभएका उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल शनिबारको बैठकमा अनुपस्थित हुनुभयो । शुक्रबार भएको बैठकमा सहभागी हुनुभएका नगरप्रमुख खरेलले नैतिक प्रश्न उठेकाले आफु नै बसेर पुनः जिम्मेवारी दिँदा नकारात्मक सन्देश जाने र शनिबार बैठक बसेर निर्णय गराउनु भनेको सदस्य कटुवालले जानकारी दिनुभयो । ‘क्याम्पस प्रमुखबाट हटाउनु पर्ने कुनै कारण नदेखेपछि नगरप्रमुखले नै शनिबारको बैठकमा म आउँदिन, तपाईहरु बसेर निर्णय गर्नुहोस्’ भनेको कटुवालले दाबी गर्नुभयो । त्यस्तै, सञ्चालक समितिका उपाध्यक्ष विशाल आङ्दम्बे, सदस्य गजेन्द्र दंगाल, मिलन दाहाल, रमेश श्रेष्ठलगायत पनि उपस्थिति हुनुभएन ।
एमालेबाट कार्वाही
नेकपा एमालेका संगठित सदस्य समेत रहेका खेमराज कार्कीलाई एमाले उर्लाबारी नगर कमिटीले पार्टी सदस्यताबाट हटाएको एक विज्ञप्तिमार्फत जनाएको छ । एमाले नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोलाद्वारा हस्ताक्षर गरिएको पत्रमा कार्कीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको जनाईएको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस कमिटीले पुनः कार्कीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएकोप्रति खेद प्रकट गरेको छ । अध्यक्ष गौतमबुद्ध तामाङ र सचिब चिराग श्रेष्ठ (दिङ्ले) ले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘क्याम्पस प्रमुखको जिम्मेवारी दिने विषयमा पुर्नविचार नगरेमा त्यसबाट हुन सक्ने क्षतिको भागिदार क्याम्पस सञ्चालक समिति हुनेछ ।’
गत साउन ३२ गते कार्कीले चलाएको मोटरसाइकलबाट लडेर एकजना महिलाको मृत्यु भएको थियो । कानेपोखरी गाउँपालिका वडा नम्बर ७ मा कार्कीले चलाएको मोटरसाइकलबाट लडेर एकजना बोहोरा थरकी महिला घाईते भएकी थिईन् । सो बेला बोहोरालाई प्रहरीसँगको रोहबरमा तत्काल उपचारको लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको थियो । उहाँको टाउकोमा चोट लागेकाले ट्रमा सेन्टरले थप उपचारको लागि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल रेफर गरि पठाएको थियो । विराट मेडिकलको आईसियु कक्षामा गत भदौ ३ गते बिहान करिव ४ः१० बजे उहाँको उपचारकै क्रममा मृत्यु भएको थियो । यता सो विषयमा क्याम्पस प्रमुख कार्कीले पीडित पक्षलाई क्षतिपूर्ति समेत दिएर दुईपक्षीय सहमतिमा मेलमिलाप समेत भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय