काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन् । पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने शीर्ष नेता नै ती गुटगत भेलामा व्यस्त छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गुटगत भेला, बैठक र छलफलले तीव्रता पाएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि विवादले उग्र रूप लिएको थियो । विवाद समाधानका लागि यसबीच ओली र दाहालका बीचमा छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । दुवै समूह आआफ्नै अडानमा अडिग भएपछि विवाद बढ्दै गइरहेको छ ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको नाममा र दाहाल–नेपाल समूहले पार्टीकै नाममा खुलेरै समूहगत भेला, बैठक र छलफल गरिरहेका छन् । केही समयअघि ओलीले प्रदेश १ का साथै काठमाडांैमा फाउन्डेसनको नाममा भेला गर्दै जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा वडास्तरसम्म कमिटी गठन गर्दै अगाडि बढ्न निर्देशन दिएका थिए ।

काठमाडांैको भेलामा उपप्रधान एवं सचिवालय सदस्य ईश्वर पोखरेलसहितका शीर्ष नेताहरू सहभागी थिए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रायः दिनहुँ गुटगत छलफल हुने गरेको नेकपा स्रोतले जनाएको छ । पछिल्लो समय बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरूसँग छलफल गरेका छन् ।

यता दाहाल–नेपाल समूहले समेत गुटगत भेला तथा बैठकलाई तीव्रता दिएका छन् । दाहाल निवास खुमलटारमा प्रायः दिनहुँ दलगत छलफल हुने गरेको छ । थापाथली क्याम्पसमा विद्यार्थीहरूको गुटगत भेला गरेका दाहाल–नेपाल समूहले पछिल्लो समय बिहीबार पेरिसडाँडामा बाग्मती प्रदेशको अगुवा नेताहरूको भेला गरेका छन् ।

बाग्मती प्रदेशमा रहेका जिल्लाका पार्टी जिल्ला इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरूको सहभागिता रहेको छ । पार्टीभित्रको पछिल्लो विवादबारे छलफल भएको सो भेलाले जिल्ला–जिल्लामा यस्तै गुट भेला, बैठक र छलफललाई तीव्रता दिने निष्कर्ष निकालेको छ । भेलालाई अध्यक्ष दाहालका साथै वरिष्ठ नेता नेपालले सम्बोधन गरेका छन् ।

एकले अर्कोलाई कमजोर बनाउने उद्देश्यले आयोजित गुटगत भेलामा अर्को पक्षलाई गम्भीर आरोप लगाउने गरिएको छ । एकले अर्कोलाई पार्टी फुटाउनेसम्मको आरोप लगाउने गरेको नेकपा स्रोतको दाबी छ ।

नेकपा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले गुटगत भेलाको सुरुवात स्वयं प्रधानमन्त्री ओलीले गरेको आरोप लगाए । पेरिसडाँडा भेलामा सहभागी अध्यक्ष दाहालले पार्टीभित्रको पछिल्लो अवस्था के कस्तो छ भन्ने विषयमा नेताहरूबीच छलफल भएको स्वीकार गरेका छन् ।

२१ मंसिरको स्थायी कमिटी बैठकमा सहभागी नभएका प्रधानमन्त्री ओली २८ मंसिरको बैठकमा सहभागी हुने कि नहुने निश्चित छैन । तर गत बुधबार अध्यक्षद्वय ओली र दाहालका बीचमा छलफल भयो । दुई नेताका बीचमा छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले अध्यक्षद्वयका बीचमा सहमति गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । एकले अर्कालाई आरोप लगाएर पार्टी विभाजन गर्नुभन्दा आपसमा सहमति गरेर पार्टी एकता जोगाउनु नै अहिलेको आवश्यकता रहेको उनले बताए । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय