
विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँगको सहकार्यप्रति ढुक्क रहन पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।
शनिबार पार्टीको कोशी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समझदारी कायमै रहेको र अहिले सत्तासमीकरणमा कुनै परिवर्तन नआउने बताउनुभएको हो । सभापति देउवाले प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा देशको हितमा महत्वपूर्ण कार्य गरेर आएको बताउनुभयो । ओलीले बल््ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाअन्तर्गत अनुदानमात्रै सहमति गरेर आएको सभापति देउवाको दाबी छ । देशको हितमा महत्वपूर्ण समझदारी गरेर आएको भन्दै सभापति देउवाले ओलीलाई धन्यवादसमेत दिनुभयो । ‘ढाँट्ने कुरा छैन । भर्खरै चीनमा गएर देशको हितमा महत्वपूर्ण निर्णय गरेर आउनुभएको छ । उहाँले अनुदान लिएर आउने कुरा गर्नुभयो,’– उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले राम्रो काम गरिरहेको उहाँको निश्कर्ष छ ।