
उर्लाबारी । “सुरक्षित आप्रवासनको आधार: सूचना र सिप सहितको रोजगार” नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित आप्रवासन र सिप विकासको महत्वलाई उजागर गर्ने उद्देश्यले उर्लाबारी नगरपालिकाका जनप्रतिनिधि, आप्रवासी कामदारका परिवार, कर्मचारीहरू र सरोकारवालाहरूको उपस्थितिमा ¥याली र अन्तरक्रिया कार्यक्रम आयोजित गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले सुरक्षित आप्रवासन सुनिश्चित गर्न प्रभावकारी नीति निर्माण र कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए। सिप विकासका माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्दै आप्रवासनलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने उनीहरूको धारणा थियो।
सचेतनामूलक ¥यालीले आप्रवासनसम्बन्धी जोखिम न्यूनीकरणमा जानकारीमूलक कार्यक्रमहरूको महत्त्वलाई पनि उजागर गर्यो। “वैदेशिक रोजगारीलाई जोखिममुक्त बनाउन सूचना तथा सिप विकासमा ध्यान दिनुपर्छ,” उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले बताएका छन् । त्यसैगरी नगरकी उपप्रमुख मिना कुमारी खतिवडा पौडेलले आप्रवासी नागरिकहरुले उठाएका महत्वपूर्ण विषयहरुमा छलफल गरेर सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्। त्यसैगरी उर्लाबारी ४ नम्बर वडाका अध्यक्ष कल्याणकुमार राईले आफूले पनि वैदेशिक रोजगारीमा गएर भोगेको समस्याका बारेमा बताउँदै नगरपालिकाबाट रोजगारीमा गएका र वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूलाई सहयोग गर्न पालिकामा छलफल गरेर समस्या समाधान गर्ने बताएका छन् ।
यस अवसरमा आप्रवासी कामदारका परिवारहरूका अनुभव र समस्या पनि आदानप्रदान गरियो। सहभागीहरूले सिप विकासका लागि तालिम कार्यक्रमहरू सञ्चालन गर्ने र सूचना प्रवाहका माध्यमहरू प्रभावकारी बनाउने सुझाव दिए।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसले सुरक्षित आप्रवासन र रोजगारी सिर्जनामा सबै पक्षको सहकार्य आवश्यक रहेको सन्देश दिएको सामी परियोजनाका सहसकर्ता तिलक नेपालीले बताएका छन्। सो कार्यक्रममा सामीका बारेमा तिलक नेपाली र रेमिका बारेमा सुनिता बरालले स्पष्ट पारेका थिए सो कार्यक्रम नगर प्रमुख खरेलको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रम रेमिका उर्लाबारी नगर सञ्जालका अध्यक्ष एवं सहसकर्ता छविलाल दाहालले सञ्चालन गरेका थिए।