काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मङ्गलबारदेखि सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो ।
सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन् । यस्तै, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले पनि बहस गरेका छन् ।
भोलिदेखि जाहेरवालाको तर्फबाट बहस हुने कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ ।
दुबै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने आदेश अदालतबाट आउनेछ ।
पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित गराइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा विभिन्न संस्थासमेत ४४ प्रतिवादी छन् ।
रविविरुद्ध सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ । गत कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।























