
उर्लाबारी । मोरङको उर्लाबारीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
राप्रपा उर्लाबारी नगर समितिको आयोजनामा उर्लाबारी चौकमा उक्त दिवस मनाइएको हो । उर्लाबारी चौकमा राखिएको पृथ्वीनारायण शाहको तस्बीरमा माल्यार्पणसहित विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । इतिहासलाई जीवन्त राख्न तथा सम्मानका लागि पृथ्वीनारायण शाहको योगदान भुल्न नसकिने कार्यक्रमका सहभागीले बताएका छन् । ‘पृथ्वी नारायण शाहको दिव्योपदेश अहिलेको सन्दर्भमा पनि निकै सान्दर्भिक छ,’ राप्रपा कोशी प्रदेशका कोषाध्यक्ष पूर्ण वाइबाले भन्नुभयो, ‘एकीकरण अभियानमै पूरै समय बिताएका पृथ्वीनारायण शाहको भूमिका नेपालीले कहिल्यै भुल्न सक्दैनन् ।’ कार्यक्रममा राप्रपाका नेता ज्ञानेन्द्र ओली, उर्लाबारीका कार्यवहाक अध्यक्ष श्याम ढकाललगायतले बोल्नुभएको थियो ।