
उर्लाबारी । उर्लाबारी नगर प्याब्सनको आयोजनामा माघ २ देखि ४ गते सम्म ‘चौथो प्याब्सन स्पोर्टस मिट २०८१’ हुने भएको छ ।
मंगलबार उर्लाबारी–७ स्थित प्याब्सनको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतियोगिताका बारेमा जानकारी गराइएको हो । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सँगसँगै प्रयोगात्मक सिकाई प्रकृयालाई शारिरिक तन्दुरुस्तिसँग जोड्ने उद्देश्यका स्पोर्टस मिटको आयोजना गर्न लागिएको नगरअध्यक्ष सूर्य पौडेलले जानकारी दिनुभयो । मोफसलमा रहेका प्रतिभावान खेलाडी तथा खेलाडी हुने तीव्र ईच्छा बोकेका विद्यार्थीहरुलाई ‘स्पोर्टस मिट’ मा सहभागी गराएर देश तथा अन्तराष्ट्रिय जगतसम्म आफ्नो प्रतिभाव प्रर्दशन गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बर्षेनी प्रतियोगिताको आयोजना गर्दै आएको उहाँको भनाई छ । प्रतियोगितामा कक्षा ५ सम्म छात्रहरुका लागि फुटसल, माध्यमिक तहका छात्र र छात्रा दुवैका लागि भलिवल प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । छात्रहरुका लागि युथ १५ फुटबल र छात्र र छात्रा दुवैका लागि एकल टेबुल टेनिस प्रतियोगितासमेत सञ्चालन गरिने उहाँले बताउनुभयो । विजेता खेलाडी विद्यार्थीहरुल नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता संचालनका लागि अनुमानित ५ लाख ७० हजार ६० रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्याब्सन स्पोर्टस मिट २०८१ मा १ हजार भन्दा बढी विद्यार्थीहरु सहभागी रहने जनाइएको छ ।