
उर्लाबारी । ‘महिलाले पनि गर्न सक्छौं भनेर सुरु गरेका थियौं, आज हजारभन्दा बढी दिदीबहिनीहरू एकै परिवार जस्तै छौं’— यस्तै भावनाले भरिएको थियो, महिला उत्थान बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको १९ औं वार्षिक साधारणसभा ।
महिलामात्र सदस्य रहने यो सहकारीमा अहिले १ हजार ३ सय २४ जना महिला सदस्यहरू छन् । स–साना बचतबाट सुरु भएको सहकारीले आज धेरै महिलाको जीवनमा उज्यालो भरेको छ — कसैले आफ्नै व्यापार चलाएका छन् , कसैले घर बनाएका छन्, कसैले छोराछोरीलाई राम्रो पढाएका छन् । सहकारीले शेयर सदस्यहरुको जीवन स्तर उकास्न मद्धत गरिरहेको छ ।
वार्षिक सभामा नियमित कारोबार गर्ने, असल ऋणी, उत्कृष्ट बचतकर्ता तथा कक्षा १२ मा राम्रो नतिजा ल्याउने सदस्यका छोराछोरीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । सहकारीको लागि निरन्तर योगदान पु¥याउँदै आउनु भएकी ज्येष्ठ सदस्यहरु गोमा भण्डारी, सरस्वती श्रेष्ठ, शोभा मिश्र, प्रेमकुमारी श्रेष्ठ र तारादेवी खनाल तथा सरसफाइ अभियन्ता देवेन्द्र श्रेष्ठ र कर्मचारी सृष्टि गुरुङलाई पनि विशेष सम्मान गरिएको व्यवस्थापक सागर घलेले जानकारी दिनुभयो ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाकी पूर्व उपमेयर लक्ष्मीदेवी भण्डारी प्रमुख अतिथि रहनुभएको थियो । उहाँले महिलाहरूको सहकार्य र लगनशीलताले समाजमा साँचो परिवर्तन ल्याउन सक्ने बताउनुभयो ।
सभामा अध्यक्ष सर्सु गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भन्नुभयो–‘हामी सबैको सानो–सानो योगदानले आज यो सहकारी यहाँसम्म आइपुगेको हो । महिलाहरूको आर्थिक आत्मनिर्भरता नै सशक्त समाजको जग हो ।’ त्यस्तै, सचिव पुजन परियार, कोषाध्यक्ष लिलादेवी भट्टराई दुलाल र लेखा समिति संयोजक भद्रमाया निरौलाले क्रमशः प्रगति, आर्थिक र लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष शिला दाहालले राख्नुभएको थियो । २०६३ सालमा महिलाहरूले स्थापना गरिएको यो सहकारीले आजसम्म सयौं महिलालाई आत्मनिर्भर र आत्मविश्वासी बन्ने बाटो देखाएको छ ।
सभाको अन्त्यमा अध्यक्ष गुरुङले सबै सदस्यप्रति आभार व्यक्त गर्दै भन्नुभयो–‘हामी दिदीबहिनीहरूले हातेमालो ग¥यौं भने, हाम्रो परिवार मात्र होइन, सारा समाज परिवर्तन हुन सक्छ ।’