उर्लाबारी । नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले राजनीतिलाई सत्ता प्राप्तिको माध्यमभन्दा पनि जनजीवन सुधारको जिम्मेवारीका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभएको छ । चुनावी अभियानअन्तर्गत विभिन्न स्थानमा गरिएको मतदाता भेटघाट, घरदैलो तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधान गर्नु नै आफ्नो मुख्य एजेन्डा भएको स्पष्ट पार्नुभएको हो । ‘राजनीति पद र कुर्सीका लागि होइन, जनताको जीवन सहज बनाउनका लागि हुनुपर्छ, फागोले उर्लाबारी, केराबारी, लेटाङ र मिक्लाजुङ क्षेत्रका मतदातासँगको संवादमा भन्नुभयोे, ‘जनताले दैनिक भोगिरहेका समस्या समाधान नगरी गरिने विकास केवल देखावटी हुन्छ ।’
उहाँका अनुसार विकास भनेको भवन, गेट वा शिलान्यास मात्रै होइन, नागरिकको दैनिकी सहज, सुरक्षित र सम्मानजनक बनाउनु हो । फागोले मोरङ–१ का ग्रामीण तथा सहरी दुवै क्षेत्रका समस्यालाई एउटै चस्माबाट हेर्न नहुने बताउनुभयो । ग्रामीण क्षेत्रमा सडक, सिंचाइ, कृषि बजार र रोजगारी मुख्य चुनौती बनेका छन् भने सहरी बस्तीमा व्यवस्थित शहरी योजना, खानेपानी, ढल व्यवस्थापन र वातावरणीय जोखिम बढ्दो समस्या रहेको उहाँको भनाइ छ ।
‘सडक बनेको छ, तर गुणस्तर छैन । अस्पताल छन्, तर सेवा पाउन घण्टौँ लाइन बस्नुपर्छ । विद्यालय छन्, तर अभिभावक सन्तुष्ट छैनन्,’ उहाँले भन्नुभयो, ‘अब प्राथमिकता संरचना थप्नु मात्र होइन, भएका संरचनालाई जनमैत्री र प्रभावकारी बनाउनु हो ।’ फागोले शिक्षा र स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा व्याख्या गर्दै यी क्षेत्रमा पहुँचभन्दा पनि गुणस्तर सुधार ठूलो चुनौती बनेको बताउनुभयो । सामुदायिक विद्यालयको स्तर उकास्न शिक्षक व्यवस्थापन, प्राविधिक शिक्षा र स्थानीय आवश्यकता अनुसारको पाठ्यक्रम आवश्यक रहेको उहाँको धारणा छ । स्वास्थ्यतर्फ प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताल भए पनि दक्ष जनशक्ति, उपकरण र सेवा प्रवाहमा कमजोरी देखिएको फागो बताउनुहुन्छ । ‘सामान्य उपचारका लागि पनि विराटनगर वा धरान जानुपर्ने बाध्यता अझै हटेको छैन,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमै भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउनु मेरो प्राथमिकता हो ।’
मोरङ–१ का युवाहरू रोजगारीको खोजीमा विदेश पलायन हुन बाध्य हुनु चिन्ताको विषय भएको फागोले बताउनुभयो । उहाँका अनुसार कृषि आधुनिकीकरण, उत्पादन–प्रशोधन र बजार प्रणाली सुदृढ गर्न सकिए यही क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिन्छ । ‘किसानले उत्पादन गर्नुहुन्छ, तर बजार पाउँदैन । मूल्य अस्थिर छ । बिचौलियाको नियन्त्रण छ,’ फागोले भन्नुभयो, ‘यदि उत्पादनदेखि बजारीकरणसम्म राज्यले स्पष्ट नीति ल्यायो भने युवाले गाउँमै सम्भावना देख्छ । ’
उहाँले कृषि सहकारी, चिस्यान गृह, प्रशोधन उद्योग र स्थानीय बजार सञ्जाल विस्तारमा जोड दिनुभयो । बढ्दो शहरीकरणसँगै वातावरणीय समस्या पनि बढ्दै गएको फागोको भनाइ छ । अव्यवस्थित बसोबास, नदी अतिक्रमण र वन विनाशले बाढी तथा डुबानको जोखिम बढाएको उहाँले बताउनुभयो । फागोले विकासका लागि राजनीतिक सहकार्य र सकारात्मक संस्कार अनिवार्य रहेको उल्लेख गर्नुभयो । मतदाता भेटघाटका क्रममा स्थानीय बासिन्दाले सडक स्तरोन्नति, रोजगारी सिर्जना, कृषि उपजको बजार सुनिश्चितता, स्वास्थ्य सेवा सुधार र गुणस्तरीय शिक्षाको माग राखेका छन् । धेरैले चुनावका बेला गरिने वाचा कार्यान्वयन नहुने गुनासो पनि गरेका छन् । यसप्रति प्रतिक्रिया दिँदै फागोले भन्नुभयो, ‘जनताले विश्वास गरेर मत दिनुभयो भने ती मागलाई नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्नेछु । म भाषणभन्दा काममा विश्वास गर्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय