केराबारी । मोरङ क्षेत्र नम्बर १ मा चुनावी माहोल चुलिँदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार पूर्ण वाइबाको घरदैलो अभियानले केराबारी गाउँपालिकामा उल्लेख्य प्रभाव पारेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै वाइबाले केराबारीका विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभयो । स्थानीय टोल–बस्तीमा पुगेका वाइबालाई सर्वसाधारणले आत्मीय स्वागत गरेका थिए ।
घरदैलोका क्रममा स्थानीयवासीले बाढी तथा कटानको दीर्घकालीन समाधान नहुँदा जनजीवन प्रभावित हुँदै आएको गुनासो गरेका छन् । त्यस्तै, सडक तथा अन्य पूर्वाधार विकास सुस्त रहेको, स्वास्थ्य सेवामा सहज पहुँच नपुगेको, खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान नभएको र आन्तरिक पर्यटनको सम्भावना उपयोग हुन नसकेको विषय पनि उठाइएको थियो ।
वाइबाले भेटघाटका क्रममा स्थानीयवासीका समस्या र सुझाव ध्यानपूर्वक टिपोट गर्दै प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उम्मेदवार वाइबाले मतदाताले विश्वासका साथ जिम्मेवारी सुम्पिए विकास, सुशासन र जनमुखी योजनामार्फत क्षेत्रको चैतर्फी विकास गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो । “स्थानीय आवश्यकता र जनताको आवाजलाई नीति र कार्यक्रममार्फत सम्बोधन गरिनेछ,” उहाँले भन्नुभयो ।
घरदैलो अभियानकै क्रममा विभिन्न दल परित्याग गरी केही स्थानीय नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । केराबारी–९ का रामबहादुर घोर्साने र हरिकृष्ण कटुवाल तथा वडा नं. ८ का विमल परियार राप्रपामा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई उम्मेदवार वाइबाले पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय मतदाता, शुभेच्छुक तथा समर्थकको उल्लेख्य सहभागिता देखिनु राप्रपाप्रति बढ्दो जनआकर्षणको संकेतका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय