उर्लाबारी, मोरङको उर्लाबारी–८ स्थित अठियाबारी कृषि फर्म प्रालिमा फैलिएको एचफाइभ एनवान (बर्ड फ्लु) संक्रमणले एक सफल कृषकको वर्षौंको मेहनत एकैचोटि ध्वस्त बनाएको छ। उच्च संक्रामक मानिने उक्त रोगका कारण फार्ममा पालिएका कुखुरामा संक्रमण पुष्टि भएपछि ठूलो क्षति भएको हो।

संक्रमण फैलिनासाथ करिब ८ हजार कुखुरा मरे भने बाँकी रहेका १८ हजार कुखुरा पनि सुरक्षाका लागि नष्ट गरियो। यससँगै १४ हजार ७ सय अण्डा र करिब ६ हजार केजी दाना समेत नष्ट गरिएको छ। प्रारम्भिक अनुमानअनुसार यो घटनाबाट २ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको छ।

यो फार्मका सञ्चालक उमेश थापा उर्लाबारी क्षेत्रकै एक उदाहरणीय कृषकका रूपमा परिचित रहनुभएको थियो। वैदेशिक रोजगारीको विकल्प खोज्दै स्वदेशमै केही गर्ने सोचले उहाँले लेयर्स कुखुरा पालन सुरु गर्नुभएको थियो। मेहनत, लगनशीलता र प्रभावकारी व्यवस्थापनका कारण उहाँको फार्म स्थानीय स्तरमै उत्कृष्ट मानिन्थ्यो।

तर, अचानक देखिएको संक्रमणले उहाँका सबै सपना चकनाचुर बनाएको छ। अहिले फार्मको खोर नै रित्तिएको छ—जहाँ कहिल्यै कुखुराको आवाज गुञ्जिन्थ्यो, त्यहाँ अहिले सुनसान छ।

थापा भन्नुहुन्छ, “वर्षौंको मेहनत एकैपटक सकियो। अब फेरि सुरु गर्ने हिम्मत जुटाउन पनि गाह्रो भएको छ। राज्यले साथ दिन्छ भन्ने आशा छ।” उहाँ अहिले राज्यबाट उचित क्षतिपूर्ति र सहयोगको अपेक्षामा हुनुहुन्छ।

कृषकहरूका लागि जोखिम व्यवस्थापन र आपतकालीन सहयोग कति आवश्यक छ भन्ने उदाहरण यो घटनाले प्रस्ट पारेको छ। बर्ड फ्लुजस्तो रोगले कृषिमा कति ठूलो असर पार्न सक्छ भन्ने यो घटना एक गम्भीर संकेत हो।

उर्लाबारीमा भएको यो क्षतिले केवल एउटा फार्म मात्र होइन, कृषिमा आत्मनिर्भर बन्ने सपना नै चुनौतीमा परेको छ। यस्ता विपद्का बेला राज्यले शीघ्र राहत र पुनर्स्थापनाको पहल नगरे, थापाजस्ता मेहनती कृषकहरू निराश हुने खतरा देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय