मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा एउटा उदाहरणीय काम अन्तिम चरणमा पुगेको छ—जहाँ राजनीति भाषणमा होइन, व्यवहारमा देखिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल ले आफ्नो सेवा–सुविधाबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि भवन निर्माण गरिरहनुभएको छ ।
सामान्यतया यस्ता संरचना निर्माणका लागि सरकारी बजेट, योजना र प्रक्रियाको लामो प्रतिक्षा गर्नुपर्छ । तर, पौडेलले त्यो प्रतिक्षा गर्नुभएन । समाजका आवश्यकता बुझ्दै आफ्नै स्रोतबाट भवन निर्माणको जिम्मा लिनुभयो । अहिले उक्त भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।
यो भवन केवल इट्टा–बालुवाको संरचना मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, पहुँच र अवसरसँग जोडिएको प्रयास हो । उनीहरूको सहज आवतजावत, सेवा प्राप्ति र सामुदायिक गतिविधिमा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यो पहल गरिएको हो ।
उपाध्यक्ष पौडेल भन्नुहुन्छ, “जनप्रतिनिधि हुनु भनेको सुविधा लिनु मात्र होइन, समाजलाई केही फर्काउनु पनि हो । अपाङ्गता भएका दाजुभाइ–दिदीबहिनीहरूको जीवनमा सानो भए पनि सहजता ल्याउन सकियो भने त्यो नै मेरो लागि ठूलो उपलब्धि हो ।”
उहाँका अनुसार भवन चाँडै सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको छ । स्थानीय समुदाय पनि यो कार्यप्रति उत्साहित देखिएको छ ।
आजको राजनीतिक परिवेशमा जहाँ जनप्रतिनिधिमाथि विभिन्न प्रश्न उठ्ने गरेका छन्, त्यहीँ उपाध्यक्ष पौडेलको यो कदमले सकारात्मक सन्देश दिएको छ । सेवा, समर्पण र उत्तरदायित्वको सच्चा उदाहरण बनेको यो कार्यले अन्य जनप्रतिनिधिहरूलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।























