उर्लाबारी । पूर्वी मोरङका पत्रकारहरूको साझा संस्था सञ्चार क्लब नेपाल उर्लाबारीको चुनाबी साधारणसभा आगामी बैशाख ५ गते आयोजना हुने भएको छ ।
संस्थाको नियमित साधारणसभासँगै यसपटक नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम तय गरिएको हो । पत्रकारहरूको पेशागत एकता, हक–हित संरक्षण तथा सञ्चार क्षेत्रको विकासमा सक्रिय भूमिका खेल्दै आएको क्लबले हरेक कार्यकालमा नेतृत्व हस्तान्तरणलाई लोकतान्त्रिक अभ्यासका रूपमा अघि बढाउँदै आएको छ । यसैअनुसार आगामी साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिने जनाइएको छ ।
क्लबका अध्यक्ष कुमार खड्काले साधारणसभाको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सफल बनाउन आवश्यक व्यवस्थापन, सदस्य समन्वय तथा निर्वाचन प्रक्रिया सम्बन्धी तयारीहरू सुरु भएको छ । सञ्चार क्लब नेपाल उर्लाबारीले विगतदेखि नै पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिम, अन्तरक्रिया तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । यस संस्थाले स्थानीय स्तरमा पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको मानिन्छ । आगामी नेतृत्वले संस्थालाई थप गतिशील, प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ । साथै, नयाँ कार्यसमितिले पत्रकारहरूको पेशागत सुरक्षासँगै प्रविधिमैत्री पत्रकारिता र संस्थागत विकासमा विशेष जोड दिने विश्वास लिइएको छ ।























