उर्लाबारी । कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै हङकङ भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ ।
चैत्र १४ गते प्रस्थान गर्नुभएकी मन्त्री चेम्जोङलाई हङकङमा नेपाली समुदायले भव्य स्वागत गरेका थिए, जसले विदेशमा रहेका नेपालीबीच उहाँप्रति रहेको विश्वास र सम्मान झल्काएको थियो । हङकङस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा सम्पन्न विशेष कार्यक्रममा मन्त्री चेम्जोङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो । उक्त कार्यक्रम अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२६ को ११६ औं संस्करणको अवसरमा आयोजित गरिएको थियो, जहाँ महिला सशक्तीकरण, अधिकार र प्रवासी नेपाली महिलाहरूका चुनौतीबारे व्यापक छलफल भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चेम्जोङले महिलाहरूको हक–अधिकार सुनिश्चित गर्न राज्यले स्पष्ट नीतिगत प्रतिबद्धता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशमा रहेका नेपाली महिलाहरूले भोग्नुपरेका समस्या—श्रम शोषण, असुरक्षा र पहिचानको संघर्षलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताउनुभयो । “देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीको सम्मान, सुरक्षा र अवसर सुनिश्चित गर्नु पनि हाम्रो जिम्मेवारी हो,” उहाँको भनाइ थियो । भ्रमणका क्रममा मन्त्री चेम्जोङले हङकङस्थित नेपाली वाणिज्य दूतावासको समेत भ्रमण गर्नुभयो । महावाणिज्य दूत डा. बिन्देश्वर प्रसाद लेखकले कन्सुलर सेवा, आपतकालीन सहायता, राहदानी सेवा तथा आर्थिक कूटनीतिसम्बन्धी गतिविधिहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो । सो अवसरमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र एनसीसी हङकङका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
हङकङ बसाइका क्रममा मन्त्री चेम्जोङले विभिन्न स्थानको अवलोकन गर्नुका साथै त्यहाँ रहेका नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट गर्नुभयो । ती भेटघाटहरूमा उहाँले प्रवासी नेपालीहरूको अनुभव, समस्या र सुझावहरू सुन्दै सरकारसम्म पु¥याउने प्रतिबद्धता जनाउनुभयो । यसले प्रवासी र मातृभूमिबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
चैत्र २१ गते स्वदेश फर्किनुभएकी मन्त्री चेम्जोङको यो भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा कोशी प्रदेशको उपस्थिति सुदृढ गर्नुका साथै महिला सशक्तीकरण र प्रवासी नेपालीका मुद्दालाई प्राथमिकतामा राख्ने सन्देश दिएको छ । उहाँको सक्रियता र प्रतिबद्धताले नीति निर्माण र कार्यान्वयनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय