
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज विश्वासको मत लिँदै छन् । संसद सचिवालयले विश्वासको मत लिने प्रक्रियालाई आजै टुंगो लगाउनेछ ।
संसदको विशेष अधिवेशन आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्दैछ । विशेष अधिवेशन विश्वासको मतको प्रयोजनका लागि बोलाइएकाले अन्य कुनै पनि बिजनेस छैन ।
सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेछन् ।
संसदको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यसहित विश्वासको मत माग्ने छन् । प्रधानमन्त्रीले राखेको सो प्रस्तावमा छलफलका लागि समय निर्धारण गरिने छ ।
दलीय आधारमा सांसदहरुले आफ्नो मत राख्नेछन् । त्यसपछि प्रधानमन्त्री ओलीले छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।
प्रधामन्त्रीको जवाफपछि विश्वासको मतको प्रस्तावउपर निर्णय प्रक्रिया सुरु हुने छ । यो प्रस्तावलाई मतदानको प्रक्रियाबाट टुंगो लगाइनेछ ।
सांसदहरू आफ्नो हस्ताक्षरसहित मत विभाजनमा सहभागी हुनेछन् । संसद सचिवालयको रजिष्टरमा हुन्छ, हुन्न र मत दिन्न तीन किसिमका कोलम बनाइएको छ ।
सांसदहरूले त्यही कोलममा हस्ताक्षर गरेर आफ्नो मत प्रकट गर्नेछन् । मतदानमा कोरोना संक्रमित सांसदहरूलाई पनि सहभागी गराइनेछ ।
उनीहरूलाई संसद भवन परिसरको छुट्टै टेन्टमा राख्ने व्यवस्था मिलाइएको छ ।
संवैधानिक व्यवस्थाअनुसार विश्वास मतको मत विभाजनमा तत्काल कायम रहेको संख्या गणना हुनेछ ।
प्रतिनिधिसभामा हाल कायम सांसदहरुको संख्या २७१ छ । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन १३६ सांसद चाहिन्छ ।
संसदमा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले राजीनामा वा फ्लोर क्रस गर्न सक्ने अनुमान छ ।
संसदमा नेमकिपा, जनमोर्चा, राप्रपा र स्वतन्त्र १र१ जना सांसद छन् । यस हिसाबले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने संकेत देखिएको छ ।