उर्लाबारी । उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयमा विद्यार्थी र अभिभावकको गहिरो विश्वास कायमै रहेको छ। विद्यालय सञ्चालनमा एक महिनासम्मको अवरोध आउँदा समेत अभिभावकहरूले आफ्ना नानीहरूलाई अन्यत्र नपठाई विद्यालय खुल्ने पर्खाइमा बस्नु विद्यालयको लागि गर्वको विषय बनेको छ।
विद्यालयको दुरदर्शी व्यवस्थापन, चुस्त प्रशासन, जिम्मेवार शिक्षक तथा अनुशासित विद्यार्थीका कारण यस विद्यालयले आफ्नो शैक्षिक साख उच्च बनाउँदै लगेको छ। शैक्षिक गुणस्तरमा मात्र होइन, विद्यालयले गायन, नृत्य, साहित्य, चित्रकला, नाटक, हाजिरीजवाफ, फुटबल, भलिबल र चेसजस्ता अतिरिक्त क्रियाकलापहरूमा विज्ञमार्फत निःशुल्क प्रशिक्षण प्रदान गर्दै आइरहेको छ।
प्रधानाध्यापक कुमार पोखरेलका अनुसार नयाँ शैक्षिक सत्र २०८२ मा विद्यालयले खेलकुद, गायन, नृत्य तथा पढाइमा मोरङकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्यसहित योजना अघि बढाएको छ। प्रधानाध्यापक पोखरेलका अनुसार यस अभियानमा विद्यालय व्यवस्थापन, शिक्षक तथा कर्मचारीहरू समर्पित भई काम गरिरहेका छन्।
विद्यालय खुलेको पहिलो दिनमै अंग्रेजी माध्यमका कक्षा ४ देखि ९ सम्ममा २८३ विद्यार्थीले भर्ना गरेका थिए भने हालसम्म यो संख्या बढेर २९० पुगेको छ। व्यावसायिक धार अन्तर्गतको बालि विज्ञान कार्यक्रममा ५० जनाले फारम भरेका छन् भने नेपाली माध्यमतर्फ नर्सरीदेखि कक्षा ९ सम्म २०० जनाले भर्ना फारम बुझाइसकेका छन्।
विद्यालय प्रशासनले वैशाख २१ गते दिउँसो १२:३० देखि २:३० सम्म प्रवेश परीक्षा सञ्चालन हुने जानकारी दिएको छ। उक्त परीक्षामा अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयहरू समावेश गरिनेछ।
राधिका मा.वि. अब पुनः शैक्षिक गति लिँदै अभिभावक र विद्यार्थीको विश्वासलाई कायम राख्दै अगाडि बढिरहेको प्रधानाध्यापक पोखरेलले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय