
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाभित्रका मुख्य चोकहरूमा रहेका विद्युत् पोलमा थामी नसक्नु गरी तारहरू झुन्डिएको अवस्थामा देखिएका छन्। बजार क्षेत्रको सौन्दर्य बिगार्ने मात्र होइन, यस्ता तारले सर्वसाधारणको जीवनमा समेत खतरा थपिदिएको छ।
स्थानीयबासीहरूका अनुसार उर्लाबारी ३,४,५,६,७ लगायत मुख्य चोकहरुमा बिजुलीको पोलमा अत्यधिक मात्रामा तार झुन्डिएको देखिन्छ। कतिपय पोलहरूमा पुराना र नचलाइएका तार पनि राखिएको पाइन्छ, जसले गर्दा पोलहरू बोझिलो भएका छन्।
स्थानीय भन्छन्, “तारहरू यति धेरै छन् कि पोलमै आगो लाग्लाजस्तो देखिन्छ। हावा चलेपछि तारहरू आपसमा ठोक्किन थाल्छन्, बेलैमा ध्यान नदिए ठूला दुर्घटना हुन सक्छ।”
विशेष गरी साँझपख बजारमा भिडभाड हुने समयमा यस्ता तारले बालबालिका, वृद्धवृद्धा, र सर्वसाधारणका लागि जोखिम निम्त्याउने गर्छ।
स्थानीय तह, विद्युत् प्राधिकरण र सरोकारवाला निकायहरूलाई बेलैमा समाधानका लागि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। नगरवासीहरूको माग छ — प्रयोगविहीन तारहरू हटाएर व्यवस्थापन गर्न र पोलहरूको नियमित अनुगमन गरिनुपर्छ।
यदि तत्काल सुधार गरिएन भने आगलागी वा करेन्ट लागेर मानवीय क्षति हुने सम्भावनालाई नकार्न सकिन्न।