
सरोज बस्नेत
उर्लाबारी । मोरङको उर्लाबारीमा नेकपा (एमाले) नगर कमिटीको विस्तारित बैठक स्थलमा तोडफोड गरिएको छ ।
उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कमा तयार पारिएको बैठक स्थलमा एमाले ओली समूहको बैठक ओली समूहकै असन्तुष्ट समूहले तोडफोड गरेको खुलेको हो । विहीबार विहान ११ बजे बोलाइएको बैठक सुरु नभई तोडफोड गरिएको थियो । कार्यक्रमका लागि तयार पारिएको ब्यानर, कुर्सी, झ्यालका सिसालगायतमा क्षति पुगेको छ । करिब २ लाख बराबरको क्षति भएको एभरेष्ट फनपार्कका सञ्चालक हेम गुरुङले जानकारी दिनुभयो । नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्न बैठकको आयोजना गरिएको थियो । तर, नगर कमिटीमा भूगोल र पार्टीमा योगदान पु¥याएका भन्दा पनि मनोमानी तरिकाले चयन गर्न खोजिएको भन्दै राष्ट्रिय युवा संघका कुमार लिम्बूलगायतका युवाहरुले विरोध जनाउनु भएको थियो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले तोडफोड गरेको आरोप एमाले संस्थापन पक्षले लगाएको छ । तर, लिम्बू ओली समूहमै सक्रिय युवा हुनुहुन्छ ।
नेपाल समूहको कुनै संलग्नता छैनः बास्तोला
नेकपा एमाले उर्लाबारी (माधव नेपाल) समुहका अध्यक्ष गंगा बास्तोलाले एभरेष्ट फन पार्क घटनामा आफ्नो समुहको कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ । ‘हाम्रो समूहमा रहेका नेता कार्यकर्तालाई बैठकमा नजान यसअघि नै भनिसकिएको थियो,’ बास्तोलाले भन्नुभयो, ‘तोडफोडको जानकारी नभएको अवस्थामा बद्नाम गराउन सुनियोजित हिसाबले आरोप लगाइयो ।’ पदीय भागबण्डा नमिलेर संस्थापन पक्षबीचकै झगडाले त्यो रुप लिएको उहाँको दाबी छ ।
टिके प्रथा र मनोमानीविरुद्ध विरोध होः कुमार लिम्बू
एमाले उर्लाबारीको नेतृत्वमा टिके प्रथा र मनोमानी ढंगले चयन गर्न खोजिएकाले विरोध गरेको युवा नेता कुमार लिम्बूले प्रष्ट पार्नुभएको छ ।
नेकपा एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा आक्रमण र तोडफोडका बारेमा कुराकानी गर्दै युवा नेता लिम्बूले पार्टीमा योगदान पु¥याउने भन्दा पनि टिके प्रथाबाट नेतृत्व चयन गर्ने प्रयास भएको र त्यसको विरोध मात्र गरेको प्रष्ट पार्नुभएको हो । लिम्बूले कुराकानी गर्दै आफुले तोडफोड र आक्रमण नगरेको दाबी गर्नुभयो । युवा साथीभाईहरुलाई पार्टीले उपेक्षा गरेपछि असन्तुष्टी पोखेको भएपनि कसले तोडफोड गरेको भन्ने विषयमा आफुलाई थाहा नभएको उहाँले जानकारी दिनुभयो । ‘हामीले टिके प्रथा र मनोमानीको विरोध जनाएको हो, तोडफोड र आक्रमण गरेको होइन’ उहाँले भन्नुभयो । ओली समूहमा सक्रिय युवा नेता लिम्बू भन्नुभयो–‘एमाले कसैको पेवा होइन, सबैलाई समेट्नु पर्छ ।’
तोडफोड गर्नेलाई खोज्दै प्रहरी
राष्ट्रिय युवा संघ उर्लाबारीमा आवद्ध कुमार लिम्बू, एलिन लिम्बूसमेतको समूहले घटना गराएको प्रहरीले जनाएको छ । घटनापछि फरार बनेका उनीहरुको खोजी प्रहरीले गरिरहेको जनाएको छ । लिम्बूले भने आक्रमण र तोडफोडमा आफ्नो संलग्नता नभएको दाबी गर्नुभएको छ ।
तोडफोडकाबीच एमाले उर्लाबारीको बिस्तारित बैठक
विस्तारित बैठकका लागि तयार पारिएको हलमा तोडफोड भएपछि नेकपा एमाले उर्लाबारी नगर कमिटीको बैठक हल बाहिरै बसेको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेष पोखरेलको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठक सुरु हुनु अगावै बिहान पार्टी सम्बद्ध रहेका केही युवाहरुले बैठक स्थलमा राखिएका कुर्सी टेबुल तोडफोड गरेका थिए । उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कमा बोलाइएको विस्तारित बैठक सुरु अगावै आएका युवाहरुको समुहले बैठक हलमा राखिएका कुर्सी टेबुल तोडफोड गरेका हुन् । नेकपा एमाले उर्लाबारी नगर कमिटीका अध्यक्ष उमाकान्त गौतमले कार्यक्रम सुरु अगावै पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको बताउनुभयो ।
बैठक स्थलमा युवाहरुको समुहले फालेको कुर्सीले लागेर एकजना पार्टी कार्यकर्ता सामान्य घाइते भएको जनाइएको छ । नगर कमिटी अध्यक्ष गौतमको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले मोरङका स्कुल विभाग प्रमुख रुपेश खतिवडा, क्षेत्रीय इन्चार्ज भुपाल जिमी, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलगायतका नेता कार्यकर्ताहरु सहभागी थिए ।