काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। खेल उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।

नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो। नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल रहेको उक्त खेलमा सावित्रा भण्डारी ‘साम्बा’ ले नयाँ कप्तानको रूपमा जिम्मेवारी सम्हाल्दै एक्लै चार गोल गरेकी थिइन्। मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि सोही खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। पहिलो खेलको लयलाई दोस्रो खेलमा कायम राख्ने लक्ष्यमा नेपाल छ।

महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ। श्रीलंकासँग खेलिएका आठवटै खेल नेपालले जितेको छ। फिफा वरीयतामा नेपाल १००औं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा छ।

समूह एफमा नेपाल, उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। यसै समूहको अर्को खेलमा उज्बेकिस्तानले श्रीलंकालाई १०-० को फराकिलो अन्तरले हराएको थियो। फिफा वरीयतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोली हो र नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन।

नेपालको अन्तिम खेल उज्बेकिस्तानसँग हुनेछ । समूहमा शीर्ष स्थानमा रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय