विराटनगर । लगातार परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बुधबार दिउँसो ११ बजेसम्म २४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ जना पुरुष, ९ महिला, ७ बालक र २ बालिका रहेको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । उनका अनुसार बाढी पहिरोमा परेर इलाममा ९, पाँचथरमा ६, उदयपुरमा १, धनकुटामा ६, सुनसरीमा २ जनाको मृत्यु भएको बताए । प्रदेशमा ८ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ का २५ वर्षिय सुवध राई झरनामा नुहाउने क्रममा मंगलबार दिउँसो १ बजे बेपत्ता भएका थिए । खोजविन गर्ने क्रममा बुधबार विहान मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन् । मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जनाको उद्दार गरिएको थियो । मोरङमा करिब पाँच सय भन्दा बढी उद्दार गरिएको छ । मोरङमा हजारौं घर डुवानमा परेका मोरङ प्रहरीले जनाएको छ । विराटनगर १, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुवानमा परेको छ । बुढीगंगा गाउँपालिका १ र २, शान्ति चौक बस्ती डुवानमा परेको छ । रतुवामाइ नगरपालिका ७ मा ३० घर डुवानमा परेको प्रहरीले जनाएको छ । रतुवाखोलाको बान फुटेर बस्तीमा खोला पसेको छ ।























