उर्लाबारी । झापाको पाडाजुगीबाट मोरङको उर्लाबारीसम्मको प्रसारण लाइन निर्माणमा स्थानीयवासीले अवरोध गरेको छन् ।
प्राधिकरणका अनुसार पाडाजुगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा उर्लाबारी नगरपालिका–८ स्थित अठियाबारीका बासिन्दाले निजी जग्गामा पोल गाँडेको भन्दै निर्माणमा अवरोध गरेका हुन् । सो प्रसारण लाइनको लम्बाइ १६ किलोमिटर छ । करिब ५ सय मिटरमा मात्र पोल गाँड्न बाँकी रहेको छ ।
अवरोधका कारण उर्लाबारीमा निर्माण गरिएको ३३÷११ केभी सबस्टेशन सञ्चालनमा ल्याई विद्युत आपूर्ति हुन सकेको छैन । बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, उपप्रमुख, स्थानीयलगायतका सरोकारवालासँगको छलफल भएपनि निकास भने निस्किन सकेन । स्थानीयबासीहरुले कुनै पनि हालतमा आफ्नो निजी जग्गाबाट ३३ केभी प्रसारण लाइन निर्माण हुन नदिने बताएका छन् । उर्लाबारी नगरपालिकाको वडा नं. ८ की वडा सदस्य जानुका बराइलीले प्राधिकरणले आफ्नो निजी जमिन र बाटोबाट तार लैजान लागेको हुँदा रोक्नुपरेको बताउनुभयो । बराइलीले प्राधिकरणले तार टाँग्न सार्वजनिक बाटोको उपयोग गरे आफ्नो विरोध नहुने बताउनुभयो । ‘हामीले बैंकमा पनि बुझ्यौं । तार टाँगेपछि त्यस्तो जमिन धरौटी राखेर कुनै पनि बैंकले ऋण दिँदा रहेनछन् । त्यस्तो जमिन बिक्री हुन पनि गाह्रो पर्छ । त्यसैले हामी जमिन दिनेवाला छैनौं । तार टाँग्न वा अन्डरग्राउन्ड गर्न पनि राजी छैनौं ।’ बराईललिे छलफलमा भन्न’भयो ।
प्राधिकरणको विराटनगरस्थित वितरण प्रणाली सुदृढीकरण तथा वितरण आयोजनाका प्रमुख शैलेश सापकोटाका अनुसार उर्लाबारीमा ३३÷११ केभी, ८ एमभीको सब स्टेसनको निर्माण कार्य सम्पन्न भइसकेको छ । यसको सञ्चालन ६ महिनाअघि नै हुनुपर्नेमा ढिलाइ हुँदै आएको छ । प्रमुख सापकोटाले मोरङको उत्तरपूर्वी क्षेत्रका ५० हजार घरधुरीमा विद्युतको भोल्टेज र ट्रिपिङको समस्या भइरहेको बताउनुभयो ।
मोरङको उर्लाबारी, रतुवामाई, पथरीशनिश्चरे, मिक्लाजुङलगायत क्षेत्रका बासिन्दाले बेहोरिरहेको विद्युत आपूर्तिको समस्या समाधान गर्न प्रसारण लाइन र सबस्टेशन निर्माण सुरु गरिएको विद्युत प्राधिकरणको भनाइ छ । एशियाली विकास बैंकको ऋणमा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारअन्तर्गत सञ्चालित आयोजनाको निर्माण सम्पन्न भएपछि त्यस भेगका करीब तीन लाख उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत उपभोग गर्न पाउने भएकाले काम निर्माण कार्यमा सहजीकरण गरिदिन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आग्रह गर्नुभयो । हाल उक्त स्थानमा झापाको दमकबाट दुईवटा ११ केभी फिडर लाइनमार्फत विद्युत आपूर्ति गरिएको छ । लाइनको लम्बाइ अत्यधिक भएकाले सामान्य अवस्थामा समेत विद्युत आपूर्तिमा समस्या आउने गरेको छ । सोही कारण फिडर लाइनको ओभरलोड र ट्रिपिङको समस्या अत्यधिक छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय