उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लि. केही मुठ्ठी भरका ब्यक्तिहरुले कब्जा गरेको आरोप लागेको छ ।
आज सो सहकारीका लेखा समितिका संयोजक रमेश बिष्ट र भरत कँडेलले पत्रकार सम्मेलन सो आरोप लगाएका हुन् । सुनपकुवा स्वावलम्बी साकोस र सिर्जना साकोस एकीकृत भएपछि प्रारम्भिक साधारणसभासहितको निर्वाचन कार्यक्रम तय भएको छ । तालिका अनुसार कार्तिक १० गते अन्तिम नामावली प्रकाशन र कार्तिक १३ गते मतदानको समय तोकिएको छ । तर, हालसम्म पनि अन्तिम नामावली प्रकाशन नभएको भन्दै उम्मेद्वारहरुले नै असन्तुष्टी ब्यक्त गरेका छन् । अध्यक्ष पदमा डिल्लीराम सापकोटा, विश्वनाथ ढुंगाना र हेमचन्द्र थापाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । सापकोटा र ढुंगाना एमालेनिकट मानिनुहुन्छ भने थापा नेकपा एककीकृत समाजवादी निकट हुनुहुन्छ । अध्यक्ष पदमा दुई जना एमालेका उम्मेद्वार भएपनि त्यसलाई ब्यवस्थापन गर्न निर्वाचन समितिका संयोजक प्रेमप्रकाश कोइराला सहयोगी बनेको भन्दै उम्मेद्वारहरु नै आपत्ती जनाएका छन् । कोइराला पनि एमालेनिकट नै हुनुहुन्छ । दुई पटक उपाध्यक्ष भइसकेका थापा बरियता क्रममा अध्यक्षको लाइनमा हुनुहुन्छ । उहाँ अध्यक्षका लागि सक्षम ब्यक्ति भएको शेयर सदस्यहरु नै बताउँछन् । त्यस्तै, अर्का अध्यक्षमा प्रत्यासी सापकोटा सिर्जना साकोसका अध्यक्ष र हाल सुनपकुवा स्वावलम्बी साकोससँग एकीकरण भएपश्चात पनि उहाँ नै अध्यक्ष भई काम गर्दै आउनु भएको छ । अर्का अध्यक्षका प्रत्यासी ढुंगाना पनि अध्यक्ष पदका लागि सक्षम ब्यक्ति मानिनुहुन्छ ।
सचिब पदमा भरत कँडेललाई उम्मेद्वारी दर्ता गर्नबाट रोकेर रविन भट्टराईलाई सर्वसम्मत बनाइएको आरोप छ । कँडेल विवेकशिल पार्टीका उर्लाबारी नगरअध्यक्ष हुनुहुन्छ भने सर्वसम्मत भएका भट्टराई एमालेनिकट हुनुहुन्छ । उम्मेद्वारी दर्ता गर्न जाने क्रममा ब्यवस्थापक राजकुमार बरालले रोकेर उम्मेद्वारी दर्ता गर्न नदिएको कँडेलको आरोप छ । निर्वाचन समितिले गर्ने काम ब्यवस्थापकले गर्न खोजेको भन्दै कँडेलले आपत्ती जनाउनुभयो । निर्वाचन समिति खारेज गरी नयाँ तरिकाले चुनाब अघि बढाउन उहाँले माग गर्नुभयो । उहाँले शेयर सदस्यहरुलाई बन्देज लगाएर सहकारीका केही मुठ्ठी भरका ब्यक्तिहरुले हालिमुहाली गर्न खोजेको दाबी गर्नुभयो । वर्तमान लेखा समितिका संयोजक विष्टले पनि विधि, विधानको कुरा गरेर कसैलाई उम्मेद्वारी दिन रोक्नु गलत भएको भन्दै ब्यवस्थापकलाई हटाउन माग गर्नुभयो । ब्यवस्थापकलाई हटाएर निर्वाचन नरोके त्यसका विरुद्धमा सशक्त रुपमा अघि बढ्ने उहाँले चेतावनी दिनुभयो । शेयर सदस्यको हितमा काम गर्ने भन्दा पनि आफ्ना पार्टीका ब्यक्तिहरुलाई अघि सार्ने काम भएकाले त्यसका विरुद्ध आफुहरु उभिएको उहाँले बताउनुभयो । मुठ्ठी भरका ब्यक्तिहरुकोविरुद्ध सबै शेयर सदस्यहरुले आवाज उठाउनु पर्ने उहाँको भनाई छ । उनीहरुले उर्लाबारी नगरपालिकामा समेत सहकारीविरुद्ध उजुरी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय