उर्लाबारी । नेकपा एमाले उर्लाबारीको नगर अधिवेशन आज हुँदैछ । उर्लाबारी पार्टी प्यालेसमा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकोले अब उर्लाबारी एमालेको बागडोर कस्ले सम्हाल्ने हो भन्नेमा सबैको ध्यान गएको छ । नगर अध्यक्षका ७ जनाको नाम चर्चामा रहेको छ । अग्नि भट्टराई, उमाकान्त गौतम, पुष्प ढकाल, गंगा बास्तोला, निरोज तिम्सिना, सुरेन्द्र सेर्मा र मेघराज श्रीपाली अध्यक्षका आकांक्षी रहेका छन् । जसरी भएपनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा पार्टी नेतृत्व लागिरहेको बताइएको छ । कतिपयले नेताले होइन कार्यकर्ताले सक्षम नेतृत्व छान्न पाउनु पर्ने बताउँदै आएका छन् । कतिपय आकांक्षीहरुले सहमतिको नाममा नेताको टिके प्रथा मान्य नहुने बताउने गरेका छन् ।
को बन्लान् त अध्यक्ष ?
७ जना आकांक्षी देखिएपनि निर्वाचन हुने सम्भावना कम छ । दबाब र आश्वासन दिएर भएपनि नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न नेताहरुको दौडधुप छ । नेताहरुको रोजाई को पर्छ उहीँ अध्यक्ष बन्ने देखिएको छ । युवाहरुले भने अबको नेतृत्वमा युवाहरु आउनु पर्नेमा जोड दिँदै आएका छन् । फेरि पनि अग्नि भट्टराई नै एमालेको अध्यक्ष बन्ने प्रवल सम्भावना रहेको छ । अध्यक्षका प्रत्यासीहरुलाई नगर कमिटी र जिल्ला कमिटीमा समेटिनेछन् । नेकपा हुँदा नगरअध्यक्ष बनेका उमाकान्त गौतम पनि अध्यक्षको लाइनमा छन् भने पुष्प ढकाल, गंगा बास्तोला, निरोज तिम्सिना, सुरेन्द्र सेर्मा र मेघराज श्रीपालीको पनि अध्यक्ष बन्ने तीब्र इच्छा प्रकट गर्दै आएका छन् ।
माधब नेपालको समानान्तर कमिटीका नगर अध्यक्ष नै एमालेमा सक्रिय
पार्टी अध्यक्ष केपी शर्मा ओली र माधब नेपालबीच चरम विवाद सिर्जना हुँदा माधब नेपालको समानान्तर कमिटी उर्लाबारीका नगर अध्यक्ष गंगाप्रसाद बास्तोला एमालेमै सक्रिय रहेका छन् । उर्लाबारी वडा नं. ३ निवासी बास्तोला चतुर राजनीति खेलाडी मानिन्छन् । माधब नेपाल समूहको साथ छोडेर उर्लाबारीमा एमालेमा फर्किएका बास्तोलामात्रै हुन् । बास्तोला एमाले उर्लाबारीको अध्यक्ष बन्ने कसरत गरिरहेका छन् ।
दुई पत्रकारको पनि दाबी
एमाले उर्लाबारी नगर कमिटीको सचिबमा घनश्याम भण्डारीको दाबी छ भने नगर सदस्यमा मिलन के राउतको पनि दाबी देखिएको छ । सचिबमा भण्डारीबाहेकको दाबी नदेखिएपनि अध्यक्ष पदका आकांक्षीलाई नै मिलाएर सचिब बनाउने एमालेको रणनीति छ । त्यो भएमा भण्डारीले उपसचिबमा चित्त बुझाउनु पर्ने देखिएको छ भने सदस्यमा राउत आउने सम्भावना रहेको छ । भण्डारी सञ्चार क्लब नेपालको पूर्वअध्यक्ष एबं प्रेस चौतारीमा समेत आबद्ध छन् भने राउत प्रेस चौतारीको जिल्ला उपाध्यक्षसमेत भइसकेका छन् ।
प्रतिनिधिमा ५ पत्रकार
एमालेको नगर अधिवेशनका लागि ५ जना पत्रकार प्रतिनिधिमा छानिएका छन् । पत्रकार मिलन के राउत, केदार चौहान, घनश्याम भण्डारी, सुमन घिमिरे र नवराज भट्टराई प्रतिनिधि छानिएका छन् ।























