उर्लाबारी । नेकपा एमाले उर्लाबारीको नेतृत्वका विषयमा देखिएको विवाद अझै मिलेको छैन । अध्यक्ष पदमा ९ जनाको दाबी अझै कायम रहेको छ भने उपाध्यक्षमा कुमार लिम्बू सर्वसम्मत चयन भइसकेका छन् । सचिबमा ४ जना र उपसचिबमा आधा दर्जनको दाबी कायम छ । नेतृत्व सर्वसम्मत चयन गर्न नेताहरुले दबाब र प्रभावका लागि पटक पटक छलफल गरिरहेको भएपनि सहमति कायम हुन सकेको छैन । सदस्य पदमा पनि धेरैको दाबी देखिएको छ । उर्लाबारी–७ का प्रतिनिधि मिलन के राउतले टिके प्रथाले छानिएको नेतृत्व मान्य नहुने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो भनेका छन्, एमाले उर्लाबारीको सम्पूर्ण पदाधिकारी र सदस्य निर्वाचनका मार्फत छानियोस् । टिके नेतृत्व हजम भएन । को–कति पानीमा छन् हाम्ले नि महशुस गर्न पा’म् । जनताको बहुदलीय जनवाद जिन्दावाद । राउत नगर सदस्य पदका दाबेदार हुन् ।























