उर्लाबारी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुको समर्थन पाएका अध्यक्ष पदका उम्मेद्वार सुरेन्द्र शेर्मा पराजित बनेका छन् भने समान्तर कमिटीका संयोजक गंगाप्रसाद बास्तोला अध्यक्षमा विजयी भएका छन् ।
अध्यक्ष ओली र पार्टीका तत्कालिन बरिष्ठ नेता माधब नेपालबीच विवाद सिर्जना हुँदा उर्लाबारीमा माधब समूहको कमाण्ड सम्हालेका बास्तोला पार्टी विभाजनपछि एमालेमै सक्रिय रहेका थिए । तर, बास्तोलालाई नेता तथा कार्यकर्ताहरु कुनै पनि हालतमा नेतृत्व दिने मनसायमा थिएनन् । पार्टी अध्यक्ष ओलीनिकट मानिने मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेलदेखि नेता रुपेश खतिवडासम्म लागि परेका थिए । उनीहरु शेर्मालाई जिताउन सक्रिय भएका थिए । माहोल पनि शेर्माकै पक्षमा देखिन्थ्यो । तर, मत परिणाममा बास्तोला विजयी हुन पुगे । राजनीतिका चतुर खेलाडी मानिने बास्तोला संगठन विस्तारमा अब्बल मानिन्छन् । शेर्मालाई ३७ मत अन्तरले पराजित गर्दै बास्तोला अध्यक्ष निर्वाचित भएका हुन् । बास्तोलाले २७२ र शेर्माले २३५ मत प्राप्त गरे ।
यस्तै, उपसचिवमा भरतमणि गौतम विजयी भएका छन् । उनले २३१ मत प्राप्त गरे । उपसचिवका प्रत्यासी गोविन्द सुवेदीले ९४, जीवन काफ्लेले ८४ र जीवप्रसाद कट्टेलले ७८ मत प्राप्त गरे । नगर कमिटीको अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष र एक उपसचिवका लागि आज मतदान भएको थियो । ५२३ जना नगर प्रतिनिधिले मतदान गरेका थिए ।
यसअघि उपाध्यक्षमा कुमार लिम्बू, सचिवमा गोपालप्रसाद रिमाल सर्वसम्मत चयन भएका थिए । यस्तै, पदाधिकारीमा एक जना महिला अनिवार्य हुनुपर्ने विधान अनुसार दुई मध्ये एक उपसचिवमा निर्मला गौतम सर्वसम्मत चयन भएकी छन् । नवनिर्वाचित अध्यक्ष गंगा बास्तोलाले सबैको भावनालाई समेटेर अघि बढ्ने बताए । आगामी कार्तिक २३ गते सपथग्रहण र प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको निर्वाचन समिति संयोजक भिष्माकुमारी रेग्मीले जानकारी दिइन् ।























