उर्लाबारी । नेपाली कांग्रेसलाई चुनाबी चटारो लागेको छ । नेपाली कांग्रेसको १४ औं महाधिबेशनका लागि नयाँ मिति तय भएसँगै चुनाबी चटारो लागेको हो । तालिका अनुसार बडा अधिवेशन नभएको बडामा कार्तिक २७ गते, २० पालिका अधिवेशन नभएकोमा कार्तिक ३० गते, प्रदेश अधिवेशन मंसिर ३ गते, क्षेत्रीय अधिवेशन मंसिर ६ गते, जिल्ला अधिवेशन मंसिर १० गते, ७ प्रदेशमा मंसिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ सम्म तोकेको छ ।
यसैबीच मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा पुनः वर्तमान सभापति खड्ग फागोले उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । फागो उर्लाबारी नगरपालिकाका मेयरसमेत हुनुहुन्छ । पार्टीका केन्द्रीय तहका नेताहरुसँग पनि आफ्नो राम्रो पकड स्थापित गराउन सफल हुनु भएका फागो यस क्षेत्रका प्रभावशाली नेता मानिनुहुन्छ । क्षेत्रीय सभापति पदमा लेटाङ नगरपालिकाका मेयर शंकर राईले पनि आकांक्षा राख्नु भएको छ । जानकार स्रोतका अनुसार राईले पनि क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिने तयारी गर्नुभएको छ । लेटाङ निवासी वर्तमान जिल्ला सभापति डिगबहादुर लिम्बूले पुनः सोही पद दोहो¥याउने सम्भावना रहेकाले पनि मोरङ क्षेत्र नं. १ मा पुनः फागो क्षेत्रीय सभापतिमा सर्वसम्मत हुने सम्भावना पनि उत्तिकै रहेको छ । फागो र राईबीच चुनाबी प्रतिष्पर्धा भएपनि फागोले बाजी मार्ने सम्भावना छ । उर्लाबारी र मिक्लाजुङबाट अधिकांश क्षेत्रीय प्रतिनिधि फागो निकट विजयी हुनु भएको छ भने लेटाङ र केराबारीमा पनि फागो पक्षको राम्रो उपस्थिति रहेको छ ।























