कैलालीको लम्कीचुहा नगरपालिका–१ का डम्बर बडुवालको परिवार यतिबेला छोराको वियोगले विक्षिप्त छ।

परिवारको सहारा २२ वर्षीय छोरा भूपेन्द्रलाई अल्पायुमा गुमाउनुपर्दा उनीहरू सम्हालिन सकेका छैनन्।

आमा अर्धचेत अवस्थामा छिन्। उनका आँखाबाट बलिन्द्र धारा आँशु बगिरहेको छ। उनी एकैछिन होसमा आउँछिन्, फेरि बेहोस भइहाल्छिन्।

छिमेकी र इष्टमित्रले पुत्रशोकमा रहेको बडुवाल परिवारलाई सान्त्वना दिने प्रयास गरिरहेका छन्।

गत मंगलबार राति ९ बजेतिर टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलनजिकै एक समूहले धारिलो हतियार (चक्कु) ले हानेर उनको निर्मम हत्या गरेको हो।

भूपेन्द्र परिवारका एक्ला छोरा थिए। उनको मृत्युसँगै बडुवाल परिवारको बुढेसकालको सहारा गुमेको छ। डम्बरका छोराछोरी गरेर दुई सन्तान थिए। छोरा भूपेन्द्र जेठो थिए।

लम्कीचुहा नगरपालिका–१ लम्की बजारमा डम्बरको जुत्ता, चप्पल तथा सिमेन्टकाे पसल छ। उनले छोराछोरीलाई काठमाडौंमा पढाइरहेका थिए। काठमाडौंमा भूपेन्द्रको मामाघर पनि छ।

काठमाडौंमा उनी स्नातक अध्ययन गरिरहेका थिए। उनी अमेरिका जाने तयारी पनि गरिरहेका थिए। दसैं मनाउन केही दिनअगाडि घर आएका थिए।

घरमा धुमधामसँग दसैं मनाए पनि। दसैं मनाएर उनकी बहिनी काठमाडौं फर्किइन्। तर भूपेन्द्र तिहारपछि मात्रै काठमाडौं फर्किने सोचमा थिए। र, त्यसपछि अमेरिका जाने योजनामा थिए।

‘बाहिर देश जान भूपेन्द्र तयारी गरिरहेका थिए। अमेरिकाका लागि डीभी पनि परेको थियो’, लम्कीचुहा नगरपालिकाकी उपमेयर टीका थापाले भनिन्, ‘परिवारको आशा–भरोसा उनी (भूपेन्द्र) नै थिए। तर कलिलो उमेरमै क्रूरतापूर्वक हत्या भयो।’

लम्कीचुहा नगरपालिकाकी उपमेयर थापा र बडुवाल परिवारकी छिमेकी पनि हुन्।

मंगलबार बेलुका खाना खाएर भूपेन्द्र लम्की बजारबाट केही माथि रहेको घर गए। घरमा बसिरहेका बेला साथी कपिल श्रेष्ठले उनलाई बाहिर बोलाए। र, रातको समय टीकापुर लिएर गए।

लम्कीकै कपिल श्रेष्ठ भूपेन्द्रका नजिकका साथी थिए।

‘अछाम रोडतिर भूपेन्द्रको अर्को घर पनि छ। त्यहाँ बसेका उनलाई कपिलले साथीलाई अप्ठेरो परेको छ भनेर राति लिएर गएका रहेछन्’, उपमेयर थापाले नेपालखबरलाई सुनाइन्, ‘त्यहाँ भूपेन्द्रलाई लखेट्दै लखेट्दै पछाडबिाट रड, चक्कुले हानेर हत्या गरेको देखिन्छ। मैले जानेअनुसार ज्यान नै लिनुपर्ने ठूलो दुश्मनी केही थिएन।’

प्रहरीका अनुसार भूपेन्द्रको बायाँतिर कम्मरको माथिल्लो भाग र छातीमा धारिलो हतियारका चोट छन्।

भूपेन्द्रको हत्यामा संलग्न आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय (कैलाली) ले जनाएको छ।

भूपेन्द्रलाई घरबाट लैजाने उनका साथी २२ वर्षीय कपिल श्रेष्ठसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कपिलसहित लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई हिरासतमा राखिएको हो।

हत्याको कारण प्रस्ट हुन बाँकी भए पनि प्रारम्भिक अनुमानले आपसी रिसइबी देखिएको प्रहरीले जनाएकाे छ।

‘स्पष्ट कारण अझै खुल्न सकेको छैन। रिसइबीका कारण घटना घटेको हुनसक्ने प्रारम्भिक अनुमान छ’, जिल्ला प्रहरी कार्यालय (कैलाली) का एसपी विश्व अधिकारीले नेपालखबरसँग भने, ‘घटनाको विस्तृत रूपमा अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय