नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिको आकांक्षा राख्दै आएका संस्थापन इतर समूहका दुई नेताले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

कांग्रेसको संस्थापन इतर समूहबाट सभापतिको आकांक्षा राख्दै आएका महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेता पौडेललाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

महामन्त्री डा कोइरालाको निवास महाराजगञ्जमा शनिबार बेलुकी भएको छलफलमा आफूहरुले पौडेललाई अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेको नेता सिंहले नेपालखबरलाई जानकारी दिए।

‘शशांकजी र मैले रामचन्द्र दाइलाई तपाईं अभिभावकको भूमिका निर्वाह गर्नुस् भनेर आग्रह गर्‍यौं,’ उनले भने, ‘उहाँ आफ्नै कुरामात्र गर्नुहुन्छ। रामचन्द्र दाइले आफूलाई सघाउन भन्नुभयो।’

नेता सिंहले छलफलका क्रममा आफूले मिलेर जानुपर्छ भन्ने कुरा गरेरमात्रै नहुने भन्दै आफूलाई सघाउन वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासँग आग्रह गरेको पनि जानकारी दिए। उनले छलफल बिना कुनै निष्कर्ष टुंगिएको पनि बताए।

‘केही निष्कर्ष निस्केन। खाली छलफल मात्रै हो भएको,’ सिंहले भने।

महाराजगञ्जमा छलफल हुनु अघि महामन्त्री कोइरालाले नेता पौडेल र सिंहसँग निवासमै पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए। शनिबार बिहान पौडेलसँग छलफल गरेर उनी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

बालुवाटारबाट फर्किएपछि महामन्त्री कोइराला नेता सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए। चाक्सीबारी पुगेर उनले बेलुकी महाराजगञ्जमा भएको तीन आकांक्षीबीचको चाँजोपाँजो मिलाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय