नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच सहकार्य गर्ने समझदारी बनेको छ।
शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट गर्न विप्लव एक्लै पुगेका थिए। बिहान ९ बजेदेखि १० बजेसम्म भएको छलफलमा पार्टी एकता तत्काल गर्न नसके पनि तलैसम्म सहकार्य गरेर जान सहमति जुटेको स्रोतले जनाएको छ।
‘पार्टी एकता गरौं, जनयुद्धबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो’, विप्लवलाई प्रचण्डले भने। जवाफमा विप्लवले तत्काल पार्टी एकता सम्भव नभएको बताए।
‘गणतन्त्र जोगाउन, यसका उपलब्धि रक्षा गर्न हामी पनि लाग्छौं’, विप्लवले प्रचण्डलाई जवाफ दिँदै भने, ‘तर अहिले पार्टी एकता गर्न सकिँदैन। राजनीतिक कार्यदिशामा हाम्रो सहमति छैन।’ त्यसपछि विप्लवले सहकार्य गरेर जान सकिने बताएको स्रोतले जनायो।
‘पार्टी एकता नगरे पनि सहकार्य गरेर जान सकिन्छ’, विप्लवले थपे। त्यसपछि प्रचण्डले त्यो कसरी सम्भव छ भनेर सोधेका थिए।
जवाफमा विप्लवले भने, ‘तलैसम्म सहकार्य गरेर जाने र त्यसका लागि नेतृत्वले सहकार्य गरेर जान नेता/कार्यकर्तालाई सर्कुलर पठाउने, त्यसले विश्वासको वातावरण बनाउँछ।’ त्यसपछि सहकार्य गरेर जाने समझदारी बनेको स्रोतले दाबी गर्यो। स्रोतका अनुसार सहकार्यको सुरुवात आगामी निर्वाचनदेखि हुनेछ।
विप्लव पार्टीका विदेश विभाग प्रमुख धर्मेन्द्र बाँस्तोलाले पनि विप्लव र प्रचण्डबीच समसामयिक विषयमा छलफल भएको बताए।
‘अघिल्लो सरकारसँग भएको ३ बुँदे सहमति कार्यन्वयनका विषयमा छलफल भएको हो, अहिलेको समसामयिक राजनीतिक विषयमा पनि समीक्षा भएको जानकारी पाएको छु’, बाँस्तोलाले नेपालखबरसँग भने।
विप्लवले अघिल्लो हप्ता पनि खुमलटारै पुगेर प्रचण्डलाई भेटेका थिए।























