उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ बाट सर्वाधिक मतका साथ उर्लाबारी नगरपालिकाका मेयर तथा निर्वतमान क्षेत्रीय सभापति खड्ग फागो केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
आज विहान सम्पन्न मतगणनाअनुसार फागोले ५ सय २२ मत ल्याएर विजयी हुनु भएको हो । ६ सय ५९ मतदाता रहेको मोरङ क्षेत्र नं. १ मा ६ सय ३४ मत खसेको थियो । फागो पुनः क्षेत्रीय सभापतिमा उठ्ने चर्चा चलेपछि केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बनेपछि कार्यकर्ता आश्चर्यमा परेका थिए । फागोले क्षेत्रीय सभापतिमा उम्मेद्वारी नदिएपछि लेटाङ नगरपालिकाका मेयर शंकर राई सर्वसम्मत रुपमा क्षेत्रीय सभापति बन्नुभयो । फागो कांग्रेस मोरङ जिल्ला सभापतिको उम्मेद्वार बन्ने जानकार स्रोत बताउँछ । वर्तमान सभापति डिगबहादुर लिम्बूले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ४ सय ८९ मत ल्याएर दोस्रो हुँदै विजयी हुनुभयो भने २ सय ८४ मतका साथ अर्जुन तुम्रोक तेस्रो स्थानमा रहँदै विजयी हुनुभयो ।























