उर्लाबारी । नेपाली कांग्रेस मोरङको सभापतिमा खड्ग फागोले उम्मेद्वारी दिने चर्चा चलेको छ ।
मोरङ क्षेत्र नं. १ को निवर्तमान सभापति खड्ग फागोले पुनः क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेपनि अन्तिम समयमा उम्मेद्वारी दिनु भएन । उहाँले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिनुभएको थियो । जसमा फागोले मोरङ क्षेत्र नं. १ मै सर्वाधिक मत ल्याए विजयी बन्नुभयो । फागोले ५ सय २२ मत ल्याउनुभयो । उर्लाबारी नगरपालिकाका मेयरसमेत रहनु भएका फागो चर्चित युवा नेतासमेत हुनुहुन्छ ।
मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतिको कमाण्ड सम्हालिसक्नु भएका फागोले जिल्लाको कुन पदमा दाबी गर्ने भन्ने बारेमा बोल्नु भएको छैन । निकट स्रोतका अनुसार फागोले जिल्ला सभापतिमै उठ्ने मनस्थिति बनाउनु भएको छ । क्षेत्रमा कार्यकर्ता माझ लोकप्रिय बन्नु भएका फागोलाई जिल्ला सभापतिको उम्मेद्वार बन्न कतिपय कार्यकर्ताहरुले सुझावसमेत दिएका छन् ।























