विराटनगर । मोरङमा नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाका विरुद्ध संस्थापन र संस्थापन इतरपक्षले मोर्चाबन्दी गरेका छन् ।
सोमबार मोरङ जिल्ला सभापति चयनका लागि निर्वाचन भएको थियो । जसमा कोइराला पक्षका डिगबहादुर लिम्बू, शेरबहादुर देउवा पक्षका दिलिप गच्छदार र कृष्णप्रसाद सिटौला पक्षका यदुकुमार विष्ट सभापतिका उम्मेदवार बनेका थिए । विष्टलाई संस्थापन इतर पक्षमा रहेका रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पनि समर्थन गरेका कांग्रेसका जिल्ला नेताहरुले बताएका छन् ।
सोमबार भएको मतदानमा सभापति पदका तीनमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण मंगलबार पुन मतदान हुदैछ । सोमबार बेलुका पत्रकार सम्मेलन गर्दै यदु विष्टले आफ्नो प्यानलको समर्थन गच्छदारलाई रहेको बताएका छन् । आइतबार भएका निर्वाचनमा ३ हजार ४ सय १४ मत खसेको थियो । जसमा संस्थापन इतर पक्षका उम्मेदवार लिम्बूले १५४४ मत प्राप्त गरे । गच्छदारले ११६६ मत प्राप्त गर्दा विष्टले ५६३ मत पाए ।
‘सभापतिमा उठ्ने तयारी गरेका कोइरालालाई रोक्न सबै पक्षले मोर्चाबन्दी गरेका छन्,’ कोइराला निकट एक नेताले भने,‘मोर्चाबन्दी गरेपनि डिगबहादुर लिम्बूले चुनाव जित्छन् ।’ बिष्टलाई मतदान गरेका कतिपय मतदाताहरुले अब खुलेरै डिगबहादुर लिम्बूलाई सघाउने देखिएको छ ।























