उर्लाबारी । नेपाली काङ्ग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु बिजयी हुनुभएको छ । डा. शेखर कोइराला समूहका लिम्बूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र कृष्ण सिटौला समूहका दिलिप गच्छदारलाई भारी अन्तरले हराउनु भएको हो । लिम्बूले १ हजार ९ सय ६ मत पाउनुभयो भने गच्छदारले १ हजार ४ सय २२ मत पाउनुभयो । ३ हजार ३ सय ६० मत खसेको थियो । ४ सय ८४ मत अन्तरले लिम्बू दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनु भएको छ । ३२ मत बदर भएको छ ।
नेपाली कांग्रेस मोरङको सभापति पदका लागि हुने दोश्रो पटकको निर्वाचनमा यदु बिष्टले गच्छदारलाई सघाएपनि लिम्बू विजयी हुनु भएको छ । आईतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नल्याएपछि सभापति पदका लागि दोश्रो चुनाव भएको थियो । १४ औं महाधिवेशन अन्तरगत मोरङको अधिवेशनमा आईतबार पहिलो चरणमा भएको मतदानमा ३ हजार ४ सय १४ मत खसेको थियो । आईतबार राती मतगणना हुँदा संस्थापनइतर पक्षका उम्मेदबार लिम्बुले १ हजार ५ सय ४४ मत प्राप्त गर्नुभयो भने शेरबहादुर देउवा निकट उम्मेद्वार गच्छदारले १ हजार १ सय ६६ मत प्राप्त गर्दा कृष्णप्रसाद सिटौलासँग नजिक रहेका उम्मेद्वार यदुकुमार बिष्टले ५ सय ६३ मत प्राप्त गर्नुभएको थियो । विष्टले पत्रकार सम्मेलन नै गरेर गच्छदारलाई सघाउने घोषणा गर्नुभएको थियो । विष्टले गच्छदारलाई सघाएपनि अधिकांश विष्टलाई मतदान गर्ने मतदाताले लिम्बूलाई मतदान गरेका थिए । यसअघि सभापति हुँदा देउवा समूहबाट जित्नु भएका लिम्बू यस पटक कोइराला समूहबाट जित्न सफल बन्नुभयो ।























