विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन आजबाट शुरु भएको छ । उक्त क्रममा प्रदेश १ मा उम्मेदवार खडा हुने क्रम पनि चलिरहेको छ । सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच भिडन्त हुने भएको छ । थापाको उम्मेदवारीको टुंगो बिहान लागेको हो भने घिमिरेको उम्मेदवारीको टुंगो साँझमात्र लागेको हो ।

 

थापा झापाका पूर्व सभापति हुन् । उनले संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानलबाट उम्मेदवारी दिने तय भएको हो ।

प्रदेश १ को अधिवेशन गर्न पार्टीले सिटौलालाई संयोजक तोकेको छ । उनले आफ्नो गृहजिल्ला झापाका यसपालि पनि आफ्नो पक्षका देउकुमार थेवेलाई जिताएका छन् । सोही अनुसार प्रदेश सभापतिमा पनि उनले आफ्नैलाई ल्याउन संस्थापनसँग साझेदारी गरेका हुन् ।

 

यता, घिमिरे कांग्रेस संस्थापन इतरबाट साझा उम्मेदवार बनेका हुन् । उनी केन्द्रीय सदस्यसमेत हुन् ।

संस्थापन इतर पक्षले साझा उम्मेदवार तय गर्नका लागि हिजोमात्रै प्रदेशअनुसार छुट्टाछुट्टै परामर्शका लागि नेताहरु तोकेको थियो । जसमा प्रदेश १ का लागि बलबहादुर केसी, महेश आचार्य, डा। मिनेन्द्र रिजाल, डा। शेखर कोइराला, सरिता प्रसाइँ र स्वयं घिमिरे रहेका थिए ।

टोलीले परामर्श टोलीकै सदस्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रामचन्द्र पौडेल पक्षका मानिए पनि घिमिरेलाई कोइराला परिवारको पनि साथ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय