उर्लाबारी नगरपालिकाले ३० अौ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राहत साथै पोषण सामाग्री बितरण गरेको छ ।
नगरपालिका परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि अपाङ्गता भएका ब्यक्तिलाई बितरण गरिएको हो ।
अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम संयोजक तथा उर्लाबारी नगरपालिका उप-प्रमुख लक्ष्मीदेवी भण्डारी, प्रमुख प्रशासकिय अधिकृत मुरारीप्रसाद घिमिरेले १८ जना अपाङ्गता भएका ब्यक्तिलाई राहत र १८ जना अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न बितरण गर्नु भएको छ ।
कार्यक्रममा उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले अपाङ्गता रहर नभई बाध्यता भएकाले सबैले अपाङ्गता भएका ब्यक्तिलाई साथ, माया र हौसला दिनु पर्ने बताउनु भएको छ । उहाँले उर्लाबारी नगरपालिकाले वडा नम्बर ३ मा अपाङ्गता भएका ब्यक्तिहरूको लागि सामुदायिक भवन निर्माण गरेको समेत जानकारी गराउनु भएको छ । नगरपालिकाबाट अपाङ्गता भएका ब्यक्तिलाई दिने सहयोग कटौती नगरि अझै बढाएर लैजाने र राज्यबाट पाउने सेवा सुबिधा सदैब उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरूको समूहका अध्यक्ष ब्यासकुमार लिम्बूले अपाङ्गता भएका ब्यक्तिले अपाङ्गता परिचय पत्र लिन धेरै समस्या भइरहेकाले नगरपालिका मार्फत परिचय पत्र बितरण गर्ने ब्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।
मिलिजुली समूहको २ नम्बर वडाको अध्यक्ष सुमित्रा श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिलाई समूह मार्फत प्रत्येक वडामा बीउ पुजीको रूपमा नगरपालिकाले ५० हजार सहयोग गरेको धन्यवाद ब्यक्त गर्नुभएको छ ।उहाले नगरका सबै अपाङ्गता भएका ब्यक्तिहरूलाई समूहमा आबद्ध हुन समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख चन्द्रकला सुब्बाले स्वागत मन्तब्य राख्नु भएको थियो भने नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।























