काठमाडौं । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देल विजयी भएका छन् ।

उनले कमल थापालाई हराउँदै पार्टी अध्यक्षमा जित हासिल गरेका हुन् । विजयी लिङ्देनले १८१७ मत प्राप्त गरेका छन् भने थापाले १६१७ मत प्राप्त गरेका छन् ।

खसेको मतमा ४३१ मत बदर भएको थियो ।

महामन्त्रीमा भने थापा पक्षकी कुन्ति शाही विजयी भएकी छिन् । उनकी प्रतिद्वन्दी अभिनेत्री रेखा थापा पराजित भएकी छिन् ।

चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रिय सदस्यका लागि शनिवार मतदान भएको थियो । अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच तथा उपाध्यक्षमा ९ जना र महामन्त्रीमा ६ जना र केन्द्रिय सदस्यका लागि २७६ जना प्रतिस्पर्धामा थिए ।

राप्रपा केन्द्रिय निर्वाचन समिति सदस्य श्यामबहादुर शाहीका अनुसार अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रिय सदस्य गरि जम्मा १४९ जना निर्वाचित हुनेछन् । नवनिर्वाचित अध्यक्षले ५० जना मनोनित गर्न पाउने व्यवस्था छ ।

यसैबीच निवर्तमान अध्यक्ष थापाले भने निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउँदै मुलुक गणतन्त्रमय भएका बेला आफूले राजतन्त्रको झण्डा बोकेको पुरस्कार अहिले राजाले दिएको टिप्पणि गरेका छन् ।

थापाले भनेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु । सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय