काठमाडौं । अक्सफर्ड–आस्ट्राजेनेका खोपका एक विकासकर्ताले भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने चेतावनी दिएकी छन् ।
प्राध्यापक डेम सारा गिलबर्टले एउटा मन्तव्यका क्रममा महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने उनको भनाइ छ । उनले ओमिक्रोन भेरियन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने समेत चेतावनी दिएकी छिन् । उनले यसबारे थप थाहा नहुँदासम्म मानिसहरू सजग हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘भाइरसले हाम्रो जीवन र जीविकालाई त्रासमा पारेको यो अन्तिम पटक हुने छैन । सत्य के हो भने अर्को निकै खराब हुनसक्छ । त्यो निकै सङ्क्रामक र घातक वा दुवै हुनसक्छ ।’
उनले त्यस्तो अवस्था दोहोरिन नदिनका लागि अझै पर्याप्त आर्थिक आधार सहितको तयारी नगरिएको बताइन् । ‘हामीले विकास गरेका क्षमता र ज्ञान खेर जानु हुँदैन,’ उनको भनाइ छ ।
ओमिक्रोन भेरियन्टबारे बोल्दै उनले उत्परिवर्तन भएका स्पाइक प्रोटिनले त्यसको सङ्क्रामक क्षमता उच्च भएको देखाउने बताइन् । उनले भनिन्, ‘तर त्यहाँ थप परिवर्तनहरू भएका छन् जसको अर्थ खोप वा अन्य भेरिअन्टले विकास गरेको प्रतिरोधी तत्त्व ओमिक्रोनबाट बच्न कम प्रभावकारी हुनसक्छ ।’
यद्यपि उनले सङ्क्रमणविरुद्धको घट्दो संरक्षण र मध्यम खाले रोगको अर्थ गम्भीर रोग र मृत्युबाट पनि खोपले नबचाउने भन्ने चाहिँ भइनहाल्ने बताइन् । उनले महामारीका बेला छिट्टै खोप र औषधिहरू बनेको प्रगतिलाई एउटा मापदण्डका रूपमा राख्नुपर्ने बताइन् ।
उनले फ्लुको जोखिमलाई हटाउन विश्वले एउटै खोप विकास गर्न नसक्नुको कुनै कारण नभएको पनि बताइन् ।
ओमिक्रोनबाट बच्ने उपायको रूपमा शनिवार यूके सरकारले एउटा घोषणा गर्दै मङ्गलबारबाट त्यहाँ आउने १२ वर्ष माथिका यात्रुहरूले यात्रा अगावैको बढीमा ४८ घण्टाअघि कोभिड परीक्षण गर्नुपर्ने जनाएको छ ।
ओमिक्रोनको बढ्दो सङ्ख्या देखिन थालेसँगै नाइजिरियालाई समेत यात्रामा कडाइ गरिएको रेड लिस्ट सूचीमा थपिएको छ । एकजना वैज्ञानिक प्राध्यापक मार्क वुलहाउसले नयाँ नियमहरू यूकेमा एउटा नयाँ सम्भावित लहरका लागि ‘तात्विक भिन्नता’ ल्याउनका लागि निकै ढिलो भएको बताएका छन् ।
सरकारको वैज्ञानिक कार्यदलका एक सदस्य रहेका प्राध्यापक वुलहाउसले यूकेमा ओम्रिकोन ‘निकै तीव्र गतिले फैलिरहेको’ र दक्षिण अफ्रिका र यूकेमा आउँदा साता र महिनामा यही क्रम कायम रहेमा त्यसले विश्वको तीव्र दरको डेल्टा लहरलाई उछिन्ने बताए ।
यूकेमा आइतवार ८६ नयाँ घटना देखापरेसँगै अहिलेसम्म उक्त भेरिअन्टबाट सङ्क्रमितको सङ्ख्या २४६ पुगेको छ ।
यो वर्षको सुरुमा महारानीको जन्मोत्सव पारेर सम्मानित भएकी डेम साराले चीनमा सुरुवाती भाइरस देखा परेकै समय अर्थात् सन् २०२० को सुरुतिर कोभिड खोप विकास गर्न सुरु गरेकी थिइन् ।
अक्सफर्ड–आस्ट्राजेनेका खोप अहिले विश्वमा व्यापक प्रयोग हुनेमा पर्छ जुन १७० भन्दा धेरै देशमा पठाइएको छ । बीबीसीबाट























