उर्लाबारी । मोरङको उर्लाबारी–८ बालबिसौनीका कमल लिङ्थेपले बेलबारीका ४२ जना धिमाल समूदायका विद्यार्थीहरुलाई उपहार स्वरुपमा स्कुल ब्याग दिनुभएको छ ।
विद्यालय जान प्रोत्साहन होस् भन्ने हेतुले उहाँले विद्यार्थीहरुलाई ब्याग वितरण गर्नुभएको हो । धिमाल जातिय महिला तथा बालबालिका बिभागकी संयोजक पम्पा धिमालको प्रमुख आतिथ्यतामा सामुदायिक बिद्यालयमा कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्यन गर्ने ४२ बालबालिकालाई प्रोत्साहन गर्न स्कुल ब्याग वितरण गरिएको छ ।
लिङ्थेपले १ सय थान स्कुल ब्याग धिमाल जातीय विकास केन्द्रमार्फत धिमाल समूदायका विद्यार्थीहरुलाई वितरण गर्नुभएको अभियानकर्मी सम्झना राईले जानकारी दिनुभयो । उर्लाबारी, कानेपोखरी र बेलबारीमा ती ब्याग वितरण गरिएको उहाँले बताउनुभयो । सामाजिक अभियन्ता रुद्र तामाङ, धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमाल, पूर्वी कमाण्ड मिडियोका दिपेन्द्रबहादुर बराइलीलगायतको सहभागीता रहेको थियो ।
लिङ्थेप अहिले हङकङमा हुनुहुन्छ । लामो समयदेखि हङकङमा कार्यरत रहनुभएका लिङ्थेप विदेशी भूमीमा रहेपनि सधैं आफ्नो ठाउँ र देशका लागि सोचिरहनुभएको छ ।
बाध्यताका कारण विदेशीनु भएका लिङ्थेप हङकङमा रहेपनि उहाँको मन सधैं नेपालमै रहेको छ । गाउँ ठाउँमा कोही विरामी होस् वा आर्थिक समस्याको खबर पाउन साथ सहयोगका लागि तत्पर रहँदै आउनुभएको छ । सामुदायिक विद्यालयको विकास होस् वा कोही बिरामीको खबर थाहा पाएसम्म उहाँले सहयोग नपठाएको बिरलै होला । हालसम्म उहाँले ४० लाखभन्दा बढी सहयोग नेपालमा पठाइसक्नुभएको छ ।























