नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को सभापतिमा दुई पक्षीय भिडन्त हुने भएको छ । शनिबार हुने निर्वाचनका लागि संस्थापन इतरका दुई जनाको उम्मेदवारी परेको छ ।
प्रदेश सभापति पदका लागि पौडेल–कोइराला पक्षबाट गुरुराज घिमिरे र नेता कृष्ण सिटौला पक्षका उद्धव थापाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । केन्द्रको राजनीतिबाट घिमिरे प्रदेशको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् । संस्थापन इतर पक्षका अर्का दाबेदार राजीव कोइरालालाई बिहीबार अन्तिम समयमा ‘ब्याक’ गराइएको हो । काँग्रेस झापाका पूर्वसभापति थापा पनि नेतृत्व हत्याउने दाउमा छन् । उनलाई संस्थापन पक्षले साथ दिएको छ ।
नेतृत्व चयनका लागि मतदान भने शनिबार दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म हुने कार्यतालिका छ । निर्वाचनमा एक हजार सात सय प्रदेश प्रतिनिधिले मतदात गर्न पाउने बताइएको छ ।























