मातृत्व टल्पल टल्पल
भै रह्यो आँखामा
बात्सल्य घुर्मैलो बनी रह्यो
अन्तरआत्मामा
अस्पताल,झाडी,फोहरका कन्टेनर हरुमा असरल्ल
फ्याकिएका म कर्णहरु
अनि हामी वसेको घर
छ्‌यालव्याल छ
तातो रगतको भलसङ्गै
पहिरो थेग्न नसकेर
वहिरगमन का निम्ति
प्रवेश द्वार घचघच्याई रहेछ
छिपाइएका प्रसव व्यथा हरु
कुमारीत्व लुटिएका कुन्ती आमा हरुलाई
आज कर्णका प्रश्नले फेरी आलो वनाइ रहेछ
कहिल्यै खाटो नबस्ने घाउ
चहर्याई रहेछ
आमा को हुँ म?
सूर्य पुत्र की सुत पुत्र हूँ म?
कुन अप्ठ्यारो अवस्था थियो र म
गर्भमा आउनु पर्यो?
जन्मन त जन्माईए
शिशु अवस्थामा फ्यालिए
सैशव हुँदै वयस्क सम्म आइपुग्दा सम्म
दिमाग गाजी रहेछ
हरेक अवसर गुमी रहेछ
जन्म दर्ताको अभावमा
तगारा हरु तेर्स्याएर
विवेकहिन व्यवहार बर्साएर
वञ्चित गर्न उद्यत जल्लाद हरु
मातृत्वको उपहास गर्दै
पितृत्वको बिना निसानीमा
प्रवेश निषेध भन्दै डुक्रन्छन्
आमा!
चिन्नु छैन मलाइ वावु
यसकालागी
नाङ्गिनु पर्दैन तिमीले अरुका सामू
कौन्तेय नै हु भने
मातृशक्ति वाटै
परिचित हुन् पाऊँ!
जन्मदर्ता बनाइदेउ आमा
गाण्डिव मात्रै होइन
कलम समाउन पाऊँ।

मीरा काफ्ले पोखरेल
मेचीनगर ९
झापा ९८४२७०४६५४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय